aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अब बैंक तथा वित्तीय संस्थाको सीईओ नियुक्ती केन्द्रीय बैंकको हातमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
अब बैंक तथा वित्तीय संस्थाको सीईओ नियुक्ती केन्द्रीय बैंकको हातमा

काठमाडौं। केन्द्रीय बैङ्कको स्वीकृतिबिना बैंक तथा वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न नपाउने भएका छन्। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (वाफिया) लाई संशोधन गर्न बनेको विधेयकमा आफूखुसी सीईओ नियुक्ति गर्ने व्यवस्थामा परिमार्जन गरेको हो।

नयाँ प्रावधान अनुसार अब बैंक तथा वित्तीय संस्थाले सीईओ नियुक्त गर्न केन्द्रीय बैङ्कको अनुमति लिनुपर्ने भएको छ। नेपाल राष्ट्र बैङ्कको स्वीकृति वा सहमतिमा मात्रै प्रमुख कार्यकारी अधिकृत नियुक्तिको अधिकार दिइएको छ । बैंक तथा वित्तीय संस्थालाई बढीव्यवसायिक, पारदर्शी  बनाउने र बैंकिङ सुशासन कायम गर्न त्यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

सीईओ नियुक्तिको अधिकार सञ्चालक समितिमा रहेको यसअघि प्रावधान वाफियाको विधेयकको व्यवस्थाअनुसार अब भने नेपाल राष्ट्र बैंकको समेत स्वीकृति लिनुपर्ने भएको छ। 

केन्द्रीय बैंकले सहमति नदिएमा सीईओ नियुक्त हुनसक्ने छैन। बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति मात्रै नभई हटाउनुपरेमा पनि चित्तबुझ्दो कारणसहित केन्द्रीय बैंकको सहमतिमा गर्नुपर्ने व्यवस्था गरिएको छ।

विद्यमान कानुनी प्रावधान अनुसार सीईओ नियुक्ति गरी राष्ट्र बैङ्कलाई जानकारी मात्रै दिए हुने व्यवस्था थियो। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस