aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

बारा पुगेर प्रचन्डले भने- निजगढ विमानस्थल थाल्छौँ, नागरिकता बाँड्छौँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ बैशाख २०८०
बारा पुगेर प्रचन्डले भने- निजगढ विमानस्थल थाल्छौँ, नागरिकता बाँड्छौँ

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन् ।

बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं.-२ का उम्मेदवार उपेन्द्र यादवलाई चुनाव जिताउन बाराको गढीमाईमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

उनले भने, "पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ। म तपाईँहरूसामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्य सम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ।"

उनले  गढीमाई लाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने समेत बताए । त्यसका लागि गढीमाई विकास समिति बनाएर यसको संरक्षण र प्रवर्धन गरिने उनले जानकारी दिए । उनले थप आश्वासन बाँडे, 'कोभिडको बेला बन्द भएको नाका सुचारु गरिनेछ। विद्युतीय सिँचाइ प्रणालीमार्फत सिँचाइको व्यवस्था गरिनेछ।'

"यस पटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौँ" प्रधानमन्त्रीले भने, "नागरिकता समस्या मधेसको मात्र समस्या होइन, देशको समस्या हो। यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ।"

प्रधानमन्त्रीले भने,"यसअघि राजस्व घटेको थियो, चोरी पैठारी बढेको थियो। अर्थतन्त्र सङ्कटमा थियो। तर अहिले अर्थतन्त्रमा सुधार आएको छ। पर्यटक आउने क्रम बढेको छ। विदेशी मुद्राको सञ्चिति बढेको छ। विदेशमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ। समृद्धिको दिशामा यो निकै ठूलो फड्को हो।"

सभामा पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस