aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एक वर्षमा २७ लाख दूरसञ्चार प्रयोगकर्ता थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
एक वर्षमा २७ लाख दूरसञ्चार प्रयोगकर्ता थपिए

काठमाडौं । अघिल्लो आर्थिक वर्ष २०७५/७६ भर करिब २७ लाख दूरसञ्चार प्रयोगकर्ता थप भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्ष साउनमा तीन करोड ८६ लाख ९९ हजार दूरसञ्चार प्रयोगकर्ता रहेकोमा यस वर्षको असारसम्म यस्तो सङ्ख्या चार करोड १३ लाख ९३ हजार पुगेको छ।

यस बीचमा नेपाल टेलिकमको सेवा प्रयोग गर्नेको सङ्ख्या सबैभन्दा धेरै बढेको छ । तथ्याङ्क अनुसार टेलिकमको मात्रै २४ लाख ४५ हजार प्रयोगकर्ता थपिएका छन् । घिल्लो आवको सुरुवातमा दुई करोड दुई लाख ५० हजार ग्राहक रहेकोमा असारसम्म दुई करोड २६ लाख ९६ हजार पुगेको छ । 

मोबाइलबाहेक फिक्स्डतर्फ पनि सेवा उपलब्ध गराइरहेको टेलिकमले पछिल्लो समय आफ्नो सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ । त्यस्तै मोबाइल सेवा मात्र उपलब्ध गराइरहेको निजी क्षेत्रको सबैभन्दा ठूलो सेवा प्रदायक एनसेलका प्रयोगकर्ता भने एक वर्षमा केवल ६८ हजार छ सय मात्र थप भएका छन् । एनसेलका प्रयोगकर्ता एक करोड ६६ लाख ३७ हजार पुगेको छ । जुन गत वर्ष साउनमा एक करोड ६५ लाख ६८ हजार थियो। 

दूरसञ्चार बजारको पछिल्लो प्रतिस्पर्धी स्मार्ट टेलिकम एक वर्षको अन्तरमा एक लाख ८० हजार प्रयोगकर्ता थप गर्न सफल भएको छ । स्मार्टका हाल २० लाख ६० हजार प्रयोगकर्ता छन् । यी तीन बाहेक यूटीएल, नेपाल स्याटेलाइट टेलिकम र सीजी टेलिकमले पनि दूरसञ्चारको अनुमति लिए पनि यी कम्पनीका सक्रिय प्रयोगकर्ता छैनन् । 

पहुँचका हिसाबले अहिले जनसङ्ख्याभन्दा ४० प्रतिशतभन्दा बढीमा दूरसञ्चार सेवा पुगेको तथ्याङ्कमा देखिन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस