aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अब गुगलले पनि तिर्ने भो नेपालमा कर

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, ०८ बैशाख २०८०
अब गुगलले पनि तिर्ने भो नेपालमा कर

काठमाडौँ । विश्वकै ठूलो प्रविधि कम्पनीमध्येको गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएको छ। आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा गुगल दर्ता भएको हो। 

सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनबाट व्यवस्था गरेको विद्युतीय सेवा कर तिर्ने गरी गुगल दर्ता भएको विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले जानकारी दिए। “गुगलले नेपालमा उपलब्ध गराउने विभिन्न सेवा र उत्पादनको विद्युतीय सेवा करअनुसार नै कर तिर्ने गरी दर्ता भएको छ,” उनले भने। 

विभागका अनुसार सिङ्गापुरस्थित क्षेत्रीय कार्यालयका नाममा गुगल दर्ता भएको हो । विद्युतीय सेवा करको प्रशासन हेर्ने गरी विभागले ललितपुरको हरिहरभवनस्थित ठूला करदाता कार्यालयलाई जिम्मेवारी तोकेको छ। सरकारले चालु आर्थिक वर्ष २०७९र८० देखि गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तलाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर लागू गरेको छ। यसअनुसार गुगलले नेपालका उपभोक्तालाई सेवा प्रदान गरेर आर्जन गरेको कुल आम्दानीको दुई प्रतिशत रकम अबदेखि नेपालमा बुझाउनुपर्नेछ। यद्यपि गुगलले नेपालबाट गर्ने वार्षिक आम्दानीको सरकारसँग आधिकारिक तथ्याङ्क भने छैन। 

‘सर्च इन्जिन जायन्ट’का रूपमा चर्चिच गुगलका युट्युब र एन्ड्रोइड अपरेटिङ सिस्टम नेपालमा लोकप्रिय छन्। यसबाहेक गुगलले वेब ब्राउजिङ, क्लाउड कम्प्युटिङ, जिमेल, म्याप्स, फोटोज्लगायतका सेवा पनि उपलब्ध गराइरहेको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस