aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एलन मक्सको रकेट पड्किएपछि महावीर पुनको प्रतिक्रिया- गोक्तेकाजीहरु हो हेर, अनुसन्धान भनेको यसरी हुन्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ बैशाख २०८०
एलन मक्सको रकेट पड्किएपछि महावीर पुनको प्रतिक्रिया- गोक्तेकाजीहरु हो हेर, अनुसन्धान भनेको यसरी हुन्छ

काठमाडौँ  । एलन मस्कको स्पेसएक्सले बिहीबार टेक्सासको खाडीबाट प्रक्षेपण गरेको अत्यधिक शक्तिशाली रकेटको परीक्षण प्रक्षेपण असफल भएको छ । उडानको ४ मिनेटमा नै त्यसले नियन्त्रण गुमाउँदा आकाशमा नै आगो लागेपछि यो समुन्द्रमा खसेको थियो ।

हालसम्मको सबैभन्दा ठुलो र शक्तिशाली त्यो रकेटको परीक्षण उडान असफल भए पनि त्यसका मालिक मक्सले धेरै कुरा सिकेको र त्यो पाठका आधारमा अब अगाडी बढ्ने प्रतिक्रिया दिएका छन् । उनले सो कार्यमा जोडिएका कोही कसैलाई गाली गरेका छैनन् बरु बधाई भनेका छन्  ।

उनले अति नै ठुलो लगानी र सपना खर्च गरेको त्यो परीक्षण असफल हुँदा दिएको प्रतिक्रियालाई आधारका रुपमा प्रस्तुत गर्दै नेपालका बैज्ञानिक महावीर पुनले निकै रोचक प्रतिक्रिया दिएका छन् ।

उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् : ‘सरकार चलाउने नेपाली गोक्तेकाजीहरुले हेर्नु होस्- अनुसन्धान भनेको यसरी हुन्छ ।‘

नेता र कर्मचारीहरूलाई ‘गोक्तेकाजी’ को संज्ञा दिएका पुनले अमेरिकामा भएको परीक्षणको असफलताको घटनाबारे समेत उल्लेख गर्दै लेखेका छन् – ‘अरबौँ डलर खर्च गरेर अमेरिकामा बनेको SpaceX भन्ने रकेट आज परीक्षण गर्दा ४ मिनटमा नै पड्क्यो । त्यो रकेट बनाउन संसार भरि बाट छानिएका अब्बल दर्जाको वैज्ञानिकहरू र इन्जिनियरहरूले धेरै वर्ष देखि काम गरेका थिए । यस्तो रकेट ता उनीहरूले सयौँ वटा पड्काएका छन् र पैसाको खोलो बगाएका छन् । एउटा रकेट पड्क्यो भनेर उनीहरू ले छोड्दैनन् । इलन मस्कले भने- हामीले अर्को टेस्टको लागी धेरै कुरा सिक्यौँ।‘

पुनको खास गुनासो भने उनले रकेट नबनाएको, अनेकौँ खेलौना बनाएर आफुलाई बैज्ञानिक करार गर्न खोजेको जस्ता तल्लो स्तरको टिप्पणी प्रति देखिएको छ । जस्तालाई त्यस्तै भन्न मिल्ने शैलीमा उनले त्यस्ता टिप्पणीको जवाफ समेत दिएका छन् ।

उनले अगाडी लेखेका छन् - 'नेपालका जान्ने सुन्नेहरू फटाहाहरूले त राष्ट्रिय आविष्कार केन्द्रले अहिले नै रकेट बनाएन भनेर खिल्ली उड़ाउछन् हाम्रो सरकार चलाउने गोक्ते नेताहरू र सचिवहरूलाई एउटा सानो खेत जोत्ने ट्र्याक्टर, मकै गोड्ने मेशिन, कोदो काट्ने मेशिन बनाउने जस्ता साना साना अनुसन्धान गर्न बजेट छुट्याउन अनुरोध गर्दा प्राण फुस्केला जस्तो गर्छन् । गण्डकी प्रदेशको एउटा सचिवले ता ठहरै परुँला जस्तो गर्छ यार । अनि यत्रा बन्छ देश ????'

 

प्रतिक्रिया दिनुहोस