aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

उपनिर्वाचनको मौन अवधि शुरु, के के गर्न पाइदैन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ बैशाख २०८०
उपनिर्वाचनको मौन अवधि शुरु, के के गर्न पाइदैन ?

काठमाडौं।  तीन निर्वाचन क्षेत्रमा रिक्त रहेको क्षेत्रमा यही वैशाख १० गते आइतबार हुन लागेको उपनिर्वाचनका लागि गए राति १२ बजेदेखि  प्रचारप्रसार निषेधको अवधि शुरु भएको छ । गएको विहीबार राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन। प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू हुने भएको हो । 

निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न आयोगले आग्रह गरेको छ । यस्ता गतिविधि गरेमा उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ लागू गरेर उम्मेदवारलाई कारबाही गर्न सकिने आयोगले जनाएको छ ।

  निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था गरेको हो । 

 ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ । 

प्रतिक्रिया दिनुहोस