
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री अधिकारीले संवैधानिक व्यवस्था बमोजिम आज प्रदेशसभाको बैठकमा विस्वासको मत लिन लागेका हुन् ।
सत्ता सहयात्री दल नेकपा (माओवादी केन्द्र)ले सरकारसँगको सहकार्य छोडेपछि अधिकारी अल्पमतमा रहेका छन् । माओवादीसहितको समर्थनमा उनी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका २७ जना सांसद रहेका छन् भने दोश्रो ठूलो दल नेकपा (एमाले)का २२ जना सांसद रहेका छन् । त्यस्तै, माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ तथा नेकपा (एकिकृत समाजवादी) र नेपाल समाजवादीका एक–एक जना सांसद रहेका छन् ।
यस प्रदेशमा कांग्रेस र माओवादी मात्र मिल्दा पनि ३४ सिट पुग्छ भने एकिकृत समाजवादी र नेपाल समाजवादी पनि गठबन्धनमा रहेकाले ३६ सिटसहित कांग्रेसको नेतृत्वमा सरकार गठन हुने सम्भावना रहेको छ ।
मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना देखिएको छैन । अधिकारी नेतृत्वको सरकार ढल्ने सम्भावनासँगै कांग्रेस र माओवादी दुवै दलले सरकारको नेतृत्वमा दाबी गरेका छन् ।
यहाँ कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र माओवादी केन्द्रबाट संसदीय दलका नेता हरिबहादुर चुमानले सरकारमा दाबी गरेका छन् । दुवैजनाले प्रदेश सरकारको नेतृत्व आलोपालो हुनुपर्नेमा जोड दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस