aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

हिउँको खोंचमा तीनदिन बिताएर माया मारेको ज्यान बचेपछि...

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • शनिबार, ०९ बैशाख २०८०
हिउँको खोंचमा तीनदिन बिताएर माया मारेको ज्यान बचेपछि...

पोखरा । चुचुरोमा पुग्न स्वास्थ्यले साथ नदिएपछि ३४ वर्षीय भारतीय पर्वतारोही अनुराग मालु अन्नपूर्ण प्रथमको ‘क्याम्प फोर’ बाट सोमबार आधार शिविर झर्दै थिए । क्याम्प थ्रीबाट तल झर्दै गर्दा उनी अघिअघि थिए, शेर्पा गाइड पछिपछि । बाटोमा रहेको हिम दरार पार गर्ने क्रममा उनी त्यसैभित्र पसे । तीन सय मिटर गहिरो दरारबाट बिहीबार बिहान उनको उद्धार भयो । उद्धार गरेर मणिपाल अस्पताल लैजाँदा न उनको मुटुको धड्कन चलेको थियो, न श्वास ।

अस्पतालमा चार घण्टाको सीपीआरपछि मुटुको धड्कन र श्वास दुवै फर्कियो । अहिले उनको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । यसरी चार घण्टासम्म सीपीआर गरेर अनुरागले पुनर्जीवन पाउनुलाई चिकित्सक र शेर्पा उद्धारकर्ताले ‘चमत्कार’ भनेका छन् ।

८ हजार ९१ मिटर अग्लो यो हिमाल चढ्न म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नर्थ बेसक्याम्पबाट आरोही चुचुरोतिर लाग्छन् । सोमबार बिहान ११ बजेको हुँदो हो । एकाबिहानै विश्वको १० औं अग्लो हिमालको चुचुरो नापेर फर्कंदै गरेका आरोहीको लस्कर थियो । त्यतिबेला सेभेन समिट ट्रेक प्रालिका पर्वतारोहण गाइड छेपाल शेर्पा क्याम्प २ मा झरेर आरोहीका लागि सुप तयार गर्दै थिए । माथिबाट अर्का गाइड दावा दार्जिलिङ चिच्याए । दावाले अनुराग मालु हिम दरारमा खसेको बताए । छेपाल बन्दोबस्तीका सामान लिएर हिम दरार भएतिर उक्लिए । ‘अन्नपूर्णमा यो ठाउँलाई एकदमै जोखिमपूर्ण मानिन्छ, कसरी हुन्छ छिटो पार गर्नुपर्छ,’ उनले भने, ‘त्यस दिन अनुरागले लामो डोरी समातेर दरार पार गर्नुपर्थ्यो । दुर्भाग्यवश छोटो डोरी समात्न पुगेछन् । हिम दरार पार गर्न सकेनन् ।’

उनका अनुसार क्याम्प ३ बाट झरेर क्याम्प २ आउनै लाग्दा हिम दरार आइपुग्छ । हिम दरारको मुख सानो छ । गहिराइ झन्डै ३ सय मिटर । शेर्पा गाइडको टोलीले तत्कालै डोरीको सहायताले २० मिटर तलसम्म पुगेर अनुरागलाई खोजे । तर दरार निकै गहिरो र तल फराकिलो हुँदै गएको देखेपछि त्यहाँभन्दा तल पुग्न सकेनन् । त्यस दिन मौसमको खराबीले सिम्रिक एयरको हेलिकोप्टर पुग्न सकेन । भोलिपल्ट स्की गरेर अनुरागको खोजी गर्ने तयारी भइरहेको थियो, त्यतिबेलै हिम पहिरो आएर उद्धार टोलीको भागाभाग भयो ।

प्रतिक्रिया दिनुहोस