काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले विद्यार्थीहरु छात्रवृक्ति नदिए निजी विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका छन् । शनिबार सामाजिक सञ्जालमा एक स्टाटस लेखी मेयर साहले महानगरपालिकाभित्र सञ्चालित निजी विद्यालयलाई यस्तो चेतावनी दिएका हुन् ।
नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान चलिरहेको बेला मेयर साहले कुल विद्यार्थी संख्याको १० प्रतिशत नघटाइ छात्रवृत्ति उपलब्ध गराउनु पर्ने उनको भनाइ रहेको छ ।
यसरी उपलब्ध गराइएको छात्रवृत्तिसम्बन्धी विवरण विद्यालयको वेबसाइट तथा सूचना पाटीमा टाँस गरेर अभिभावक र विद्यार्थीहरूलाई सूचित गराउन पनि उनले आग्रह गरेका छन् ।
उनले भनेका छन्–‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ मा छात्रवृत्तिसम्बन्धी व्यवस्था छ । यो नियमअनुसार निजी तथा संस्थागत विद्यालयहरुले प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्नुपर्छ । विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्गता भएका, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस