aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

लुक्ला विमानस्थल व्यस्त : हिमाली क्षेत्रमा पर्यटन सुधार

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, १० बैशाख २०८०
लुक्ला विमानस्थल व्यस्त : हिमाली क्षेत्रमा पर्यटन सुधार

काठमाडौं । आरोहणको ऋतु सुरु भएसँगै लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल व्यस्त भएको छ । आरोहण तथा ट्रेकिङमा जाने आन्तरिक र बाह्य पर्यटकको आवागमन बढेसँगै लुक्लामा अहिले काठमाडौँ तथा रामेछापको मन्थली विमानस्थलबाट दैनिक दर्जनौँ उडान भइरहेका छन् ।

लुक्ला विमानस्थलका अनुसार रामेछापलाई आधार बनाएर उड्ने जहाज, काठमाडौँबाट हुने सिधा उडान र हेलिकोप्टरमार्फत पर्यटक धमाधम लुक्ला भित्रिने गरेका छन् ।

नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठका अनुसार पछिल्लो समय लुक्लामा दैनिक चार–पाँच सय पर्यटक भित्रिने गरेका छन् । उनले भने, “आरोहणको मौसम सुरु भएदेखि लुक्ला र काठमाडौँका उडान भरिभराउ हुन थालेका छन् । विमानस्थलमा हेलिकोप्टरले समेत दैनिक दर्जनभन्दा बढी उडान गर्दै आएका छन् ।”

रामेछापबाट तारा, समिट र सीता एयरले दैनिक सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलका लागि पर्यटक बोकिरहेकाले लुक्लासँगै मन्थली विमानस्थलको व्यस्ततासमेत बढेको छ । त्यस्तैगरी वसन्तयाममा पर्वतारोहण तथा पदयात्रा लक्षित काठमाडौँबाट हुँदै आएका उडान र हेलिकोप्टरबाट लुक्ला पुग्ने विदेशी पर्यटकको सङ्ख्या अधिक रहेको उनको भनाइ छ ।

उनले पर्यटकको चाप बढेसँगै लुक्लाबाट दैनिक उडान सङ्ख्यासमेत बढेको बताउए । पछिल्लो समय वायु प्रदूषणका कारण देशका विभिन्न विमानस्थलको उडान प्रभावित भए पनि लुक्लामा भने उडान नियमित छन् ।

प्रतिक्रिया दिनुहोस