aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गणतन्त्रप्रतिको निराशा र विकल्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० बैशाख २०८०
गणतन्त्रप्रतिको निराशा र विकल्प
  • सञ्जिप रायमाझी 

मनमा गुम्सिएका कुरा कागजका पानाहरूमा समेट्दै जाँदा आज यो मुलुक र समाजको चिन्तनको विषयलाई उजागर गर्न मन लाग्यो।  हुन त सबै कुरा हामीले सोचेकै जस्तो नहुन सक्छ समय परिस्थिति नै वास्तविक बस्तुका ऐना हुन् यद्यपि परिस्थिति र अवस्थाको सिर्जना हाम्रै कर्म र सोचका उपज हुन् त्यसैले एक पटक अवस्था र व्यवस्थाको समीक्षा गर्ने बेला आएकै छ।

सुन्दा नि गर्भ लाग्छ हाम्रो मुलुक लिच्छवि कालमा स्वर्ण युगमा थियो रे । साँच्चै कस्तो थियो होला त्यो हाम्रो समाजवाद अनि कसरी चलेका थिए होलान् तत्कालीन समाज कल्पना गरौँ न ? हामी त्यो पुरातात्त्विक सुसंस्कृत समाजका केही अमर कृतिहरू अझै हिजो आज पनि हाम्रा टोल समाजमा जीवित पाउँछौ।  मठ मन्दिर, पाटी पौवा, धर्मशाला, ढुंगेधारा, सामाजिक रीतिरिवाज, विविधतामा एकता र सदभाब रही अनन्त कालसम्म पनि विश्वले अनुसरण गर्ने हाम्रा संस्कृति र परम्पराहरू केही उदाहरण हरू हुन्। 

वास्तवमा भन्ने हो भनी हामीसँग आज जे हाम्रो पहिचान छ विश्वमा त्यो नितान्तनै स्वर्णिम समाज र अमर पुर्खाको देन त छ । होइन भने पछिल्लो ५० वर्ष कै इतिहास हेर्ने हो भने पनि हाम्रो पहिचानमा इँटा थप्ने त्यस्तो नयाँ आयाम के नै जोडिएको छ र ? म त केही नै देख्दिन खै ? तर, पछिल्ला ५० वर्षमा के के कुरा हराए हाम्रो मुलुकबाट भनेर प्रश्न राख्ने हो भने तपाईँसँग प्रशस्त जवाफ हुन सक्छन्। मनमनै गनी हेर्नुस् त एक छिन छन् नि है ?  

एउटा सानो कथा फुरेको छ जोडौँ है त ? एउटा राम्रो घर रहेछ हरेक कुराले भरिपूर्ण जो कोही पनि त्यहाँ गिद्धे नजर लगाउने अनि त्यसलाई सकेसम्म आफ्नो बनाउन चाहने तर समस्या के रहिछ भने त्यहाँ दुइटा सुरक्षा कबज रहेछन् एउटा सिंह र धेरै कुकुरहरू जो त्यो घरका बफादार रक्षक थिए ।  कालान्तरमा अब त्यो घर सजिलै आफ्नो पकडमा नआउने भए पछि छिमेकीहरूले के जुक्ति लगाएछन् भने त्यो घरको सुरक्षा कबज तोड्ने जाल बुन्न थालेछन्। 

सिंह अरूको कुरै नसुन्ने देशभक्त थियो त्यसैले उनीहरू कुकुरलाई उचाल्न थाले त्यो सिंह एक्लै छ, तिमीहरू यति धेरै छौ र पनि तिमीहरू भन्दा माथि छ त्यो, तिमीहरू माथि हुकुम गर्छ अब सबै मिलेर तिमीहरूले त्यसलाई हटाएर तिमीहरूले त्यसको सम्पूर्ण शक्ति हासिल गर्नु पर्छ।  यस्तो प्रलोभनमा परि ती कुकुर हरू अब सिंह विरुद्ध लाग्ने थाले, आवाज उठाउन थाले छिमेकीले राम्रो संरक्षण दिएकाले उनीहरू अझ मजबुतीका साथ विद्रोह ओकल्न थाले र अन्त्यमा त्यो घर आफ्नो कब्जामा लिए।

बाहिरी दुनियाँले पढाएका अनेक सिद्धान्त र पथ लिएर अघि बढेका ती कुकुरहरूका बिचमा पनि बिस्तारै मतभेद सुरु भयो।  अब आफ्नो घरका हरेक निर्णय उनीहरू तिनै स्वार्थी छिमेकीको सहमतिमा गर्न थाले ।  हुँदा हुँदै केही नलागेर अन्त्यमा ती सारा कुकुरहरूलाई मूर्ख र असक्षम साबित गरी त्यो घर तिनै छिमेकीले बाँडेर चलाए।    

अब बुझ्नेलाई इसारै काफी छ हामी यस्तै अवस्थामा पुग्ने चरणमा छौँ भन्दा खासै फरक नपर्ला।हाम्रा अधिकांश प्राकृतिक श्रोत र साधन विभिन्न सन्धि र सम्झौतामा बेचिएका छन् । भएका राम्रा श्रोत साधनको खोजी र सदुपयोगमा मुलुक एकदमै असक्षम छ। अस्थिर र अराजक राजनीतिको पराकाष्ठा उन्मत्त रूपमा फक्रिएको अवस्था छ। पहिलेका शासक वर्ग कम्तीमा विदेशीको सामु घुँडा नटेक्दा एउटा स्वाभिमान जोगाएर मुलुक छाड्ने अवस्थामा पुगेका थिए तर अहिलेका सशक वर्ग अरूका अगाडी लम्पसार परेर हामी मुलुक जोगाउँछौ भन्ने आश्वासन दिई रहेका छन् र हामी बारम्बार तिनै निकम्मा लाई अवसर दिँदै आइरहेका छौँ । 

यिनीहरूले जानेको बोली भनेको जनताका लागि, व्यवस्थाका रक्षाका लागि, संविधानका रक्षाका लागि क्रान्ति र बलिदानबाट प्राप्त उपलब्धिको संरक्षणका निम्ति अनि यस्तै यस्तै नाना भाती भनेर विगत १५ वर्षबाट मुलुक टाट पल्टिने अवस्थामा पुगेको छ।  सहनशीलताको नि हद हुन्छ सारा सीमाहरू पार भएका छन् तर चेतनाको घण्टी बझ्न अझै सकेको छैन आम मानिसमा। यहाँ अदालत यिनैको छ, प्रशासन यिनैको छ, अख्तियार यिनैको छ यति भन्दै गर्दा भोलि प्रमाण देखाऊ न भन्छन् हामी कसरी देखाउने प्रमाण मेटाउन पनि यिनैका मान्छे छन्।  यिनलाई डर के को छ भने कुनै नयाँ शक्ति एक्कासि उदय भएर शासन सत्ता लाग्यो भने सबै सँगै जेल परिन्छ त्यसैले गधा र गोरु मिलेर चुनावमा गठबन्धन गर्छन् अनि फेरी भन्छन् यो जनताको चाहना हो।  यत्तिको लाज पचेका नेता र यतिको दुर्गन्धित लोकतन्त्र संसारमै छैन होला सायद ।

चोकचोकमा गएर भाषण गर्छन् महिला अधिकार, सामाजिक न्याय, भ्रष्टाचार मुक्त समाज, सेवामुखी प्रशासन, विकास र समृद्धिका तर बलात्कारीको संरक्षण उनीहरू नै गर्छन् । बाटोका फोहोर र खाल्डा खुल्डी देख्दा  गाडीका सिसा लाउँछन् । अनि आम मानिसले यहाँ न्याय पाउनु त कुरा छाडौँ यस्ता पवित्र शब्द बोल्ने तिनै नेताहरू करोडौँ अरबौँ को भ्रष्टाचार को समाचारमा आउँछन् तर सजाए कदापि छैन लोकतन्त्रमा कानुनी राज्यको धज्जी उडाउने बाहेक कुनै काम भएको छैन।  

एउटा बाबुले आफ्ना छोरा छोरीलाई पढाउन खेत बेच्नु पर्छ, के खेत बारी नहुनेका छोरा छोरीले ठुला राम्रा विषय पढ्नु हुँदैन ? गरिब हुनु शिक्षाको लागि अभिशाप साबित भएको छ। दुई खाले शिक्षा पद्धति किन छ यो देशमा व्यवसाय गर्न ? सरकारी विद्यालयको शैक्षिक गुणस्तर किन खस्किरहेको छ । खै त अनुगमन र सुधारका योजना रु अवस्था उही छ स्वास्थ्य, कृषि, पूर्वाधार, अर्थ, पर्यटन रोजगारी लगायत हरेकको यो कुरामा कैले छलफल र समीक्षा हुन्छ ? यी विदेशी दर्शनका खोल ओढेका दलालहरूले नेपाली माटोको पिडा साँच्चै नबुझ्ने रहेछन्। 

हाम्रो मुलुकको माटो सँग यिनको कुनै सम्बन्धै छैन जस्तो लाग्छ।  यो मुलुक गरिब, परनिर्भर र सामाजिक पतन हुनुमा कोही जिम्मेवार छन् भने ती ५० औ वर्ष देखि यो मुलुकमा शासन गरेका सबै राजनीतिक दल र तिनका नेता हुन्। यहाँको अर्को घिनलाग्दो कुरा भन्या के देखे भने हरेक कुरामा राजनीति छ, विद्यार्थी, शिक्षक, कर्मचारी, व्यापारी, गभर्नर, वकिल र न्यायाधीश देखि सबै शक्तिमान, यो देशमा जनता छैन रहेछन् त्यसैले गर्दा पनि होला यिनै हुतीहारा निकम्मा वर्गको शासनकाल सदा जीवित छ।

एक दुई बाहेक आजसम्म कुनै पार्टीका कार्यकर्ताले आफ्नो पार्टीको गलत प्रवृत्ति, बिचार र निर्णयको खुलेर विरोध गरेको देख्नु त परै जाओस् सुनेको नि छैन।  यस्ता कर्मठ युवा वर्ग समूहको हुल ठुलो निर्जीव तरिकाले निष्क्रिय बसिदिँदा नेतृत्वमा बसेका भ्रष्ट राजनीतिज्ञलाई थप भ्रष्ट हुन हौसला मिल्ने बाहेक केही हुँदैन।

तर, हालको मुलुकी आवश्यकता जोडदार खबरदारीको रहेको छ दल भन्दा माथि देश किन हुन सकी रहेको छैन आम युवा वर्गमा अझै पनि ? यही देशमा केही गरौँ मुलुकको समृद्धिमा हातेमालो गरौँ भन्ने वर्ग आज सबै भन्दा बढी निराश छन् अवसर भन्दा यहाँ अनेक चुनौती र नीतिगत समस्या छन्।  सच्चा मनले जे जति नै गरे पनि सरकारले बनाएका योजना कदापि वास्तविक लक्षित वर्गमा पुग्दै पुग्दैन अनि ती कर्मठ युवाको हौसला कसरी बढोस् ? बेरोजगारी कसरी घटेर मुलुक आत्मनिर्भरता उन्मुख होस् ? 

आज यो व्यवस्थाबाट सबै भन्दा बढी कसले लाभ लिइरहेको छ ?  गनेर भन्न सकिन्छ एउटा निश्चित नीतिमा चल्ने हो भने  राम्रो अवसर हुन सक्थ्यो तर कुरा बादरको हातमा नरिवल नै साबित भइदियो।  लोकतन्त्रको विकल्प अरू खोज्नु भन्दा अब सुधारिएको लोकतन्त्र आजको आवश्यकता बनेको छ।  नातावाद र कृपावादले गाँजिएका हरेक निकाय छन् यो बिलकुल घातक छ, यसले क्षमता र ऊर्जावान् योग्य जनशक्तिलाई सङ्कुचित पारी आफ्नालाई माथि पुर्‍याउने बाहेक केही गर्दैन। 

समाजमा वर्ग विभेद बढाउने तत्त्व पनि यही हो जस्तो लाग्छ किनकि यस्तो आचरणले समाजको तल्लो वर्गलाई कहिले पनि माथि उठ्नै दिँदैन। नाथे एउटा प्रदेशको नाम राख्न यत्रो समय ? सत्ताको यस्तो खिचातानी के यही हो हामीले खोजेको लोकतन्त्र बिलकुल होइन ? ७ वर्षमा एउटा संविधान, देशमा अनेक जात जाति बिच उचालेर जातीय द्वन्द्व छेड्ने , देशका धर्म संस्कृति मासेर विदेशी धर्म खुलेआम प्रचार प्रसार गरेर यिनलाई मुलुक काया पलट गरे झैँ लाग्छ ? कतिसम्म निच हुन सकेको नेतृत्वकर्ता आफ्नो देशप्रति, यो सङ्घीयतामा जातियता र धर्म निरीक्ष्यता सबै भन्दा ठुलो राष्ट्रघाती निर्णय हुन मेरो दृष्टिकोणमा।  बाहिरका ले जति दिन्छ त्यति घिच्न पल्केका र त्यसको बदलामा बिस्तारै बिस्तारै मुलुक सार्वभौमिकता बेच्ने यी राष्ट्रिय दलाल हरुलाई बढारेर छिटै फाल्नु आवश्यक छ ।  खोइ कहाँ छ हामीले सोचेको, चाहेको, खोजेको जस्तो लोकतान्त्रिक नेपाल रु जे सपना देखाइयो त्यसको १०५ मात्र देख्न पाको भए धन्य थियो हाम्रा लागि तर अपसोस बिपना रित्तो छ। 

बढ्दो व्यापार घाटा, बाहिरदो जनशक्ति, बढिरहेको परनिर्भरता, बढ्दो वैदेशिक ऋण, अनुत्पादित लगानी, भ्रष्ट र कमिसन खोर मन्त्रिमण्डल र कर्मचारीतन्त्र हेर्दा कसरी हामी यही देशमा आफ्नो उज्ज्वल भविष्य कल्पना गर्न सक्छौ र ? लेख्न मन त ठिक यसको उल्टो थियो तर कसरी ? विगतका शसक वर्ग सँग हाम्रा अनेकौँ असमझदारी र वैचारिक द्वन्द्व थिए होलान्, त्यहाँ हक अधिकारका लडाइँ थिए होलान् तर मुलुक सक्ने र देश खोक्रो पारी मुलुकको सार्वभौमिकता बेचिने खतरा मैले चैँ देखिन जुन आजको सबै भन्दा ठुलो चुनौती बनेको छ ।

धेरै बोल्न कथित लोकतन्त्रले जथाभाबी बोल्ने छुट त दियो तर मुलुकमा सहर्ष बसेर देश विकास गर्ने वातावरण कहिल्यै सिर्जना गरेन फलस्वरूप देशको आर्थिक अवस्था अत्तिनै नाजुक र अरूमा आश्रित छ । यो तिख्टता आम मानिसको विचारको प्रतिनिधित्व गर्ने मनोभावना हुन्छ जस्तो मलाई लाग्छ, पाठकलाई केही तिखा र ठाडा शब्दले कतै ठेस पुगेमा क्षमा याचना छ तर शब्द परिस्थिति कै हिसाबले समेटिएका छन्।  यो हालत को निकासा भनेको अब एउटा बहुमत सहितको गतिलो लोकतान्त्रिक शक्ति निर्माण हो। चुनाव आज सम्म किर्ते प्रक्रिया बनिहरेको अवस्थामा वास्तविक लोकतान्त्रिक अभ्यास बन्नु पर्ने दिन आएको छ। 

यो निराशा र विषम परिस्थितीको गतिलो निकासा नै आजको देशको सबै भन्दा ठुलो आवश्यकता हो यसका लागि सबै वर्गमा चेतना जागृत हुन जरुरी छ।  मुलुक आमा हुन् र आमा माथि गद्दार गर्नेहरुको हातबाट यो देश जोगाउनु पर्ने महत्त्वपूर्ण अभिभारा तपाईँ हामी आम नागरिकको हो।  जुन दल, राजनीतिक विचारधारा, सिद्धान्त, वर्ग वा पहिचान भएता पनि मुलुक बनाउने सन्दर्भमा कुनै मतभेद नराखी एकजुट भई यी थेत्तरा भ्रष्ट दलका विरुद्ध एउटा बलियो वैकल्पिक शक्ति निर्माण गरी मुलुकलाई समृद्धितर्फ निकास दिन हामी सबै नेपाली एक हुनु पर्छ यो नै वास्तविक राष्ट्रिय आवश्यकता हो ।  

प्रतिक्रिया दिनुहोस