aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपालमा समेत खोजी गरिएका अमृतपाल सिंह पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० बैशाख २०८०
नेपालमा समेत खोजी गरिएका अमृतपाल सिंह पक्राउ

एजेन्सी । एक महिनाभन्दा लामो समयदेखि फरार रहेको भनिएका ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख खालिस्तानी नेता अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले गिरफ्तार गरेको जनाएको छ। अमृतपाल सिंहको गिरफ्तारीको पुष्टि पञ्जाब प्रहरीका वरिष्ठ अधिकारीहरूले गरेका हुन्।

त्यसपछि पञ्जाब प्रहरीले आफ्नो ट्विटरबाट समेत यसको पुष्टि गर्दै उनलाई पञ्जाबको मोगाबाट गिरफ्तार गरिएको जनाएको छ। मेगा जरनेल सिंह भिन्डरावालेको गाउँ हो । जसको नेतृत्वमा पञ्जाबमा झन्डै एक दशक विद्रोह चलेको थियो।

उनन्तीस वर्षीय सिंह सिख स्वायत्त राज्य (खालिस्तान) स्थापना गर्ने उद्देश्य राख्ने ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख हुन्। सिंहको मूल थातथलो पञ्जाबको अमृतसर जिल्लामा छ। तर सन् २०१२ मा दुबई गएर उनी आफ्नो पारिवारले चलाएको यातायात व्यवसायमा संलग्न भएका थिए।

गत वर्ष अगस्टमा उनी पञ्जाब फर्किए। अमृत सञ्चार र नसामुक्त आन्दोलनमार्फत् उनले युवाहरूलाई आफूतिर आकर्षित गरे। दुबईबाट भारत फर्कँदा उनी आफ्ना पुराना तस्बिरमा भन्दा स्पष्टसँग फरक शैलीमा देखिए। पहिला उनको कपाल र दाह्री चिटिक्क पारेर काटेको देखिन्थ्यो।

नयाँ तस्बिरमा उनी सिख धार्मिक अभियानमा संलग्न कट्टर व्यक्तिजस्तै देखिए। त्यसको एक महिनापछि उनी वारिस पञ्जाब देका प्रमुख नियुक्त भए।उक्त सङ्गठन अभिनेता तथा अभियानकर्मी दीप सिधूले स्थापना गरेका हुन्। उनी किसानहरूको प्रदर्शनका क्रममा पक्राउ परेका थिए। गत वर्ष एउटा कार दुर्घटनामा परेर सिधूको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस