
काठमाडौं । दशैंको बिदामा विदेश घुम्न जानेको ताँती नै लाग्न थालेको छ । विगतका वर्षमा कलाकार, बैंक तथा वित्तीय संस्थाका उच्च पदमा रहेका व्यक्ति मात्र दशैंको बेलामा विदेशमा जाने गरेका थिए । तर, अहिले उच्च र मध्यमवर्गका व्यक्ति बिदाको अवसर पारेर विदेश घुम्न जान थालेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक करिब ३५ अर्ब रुपैयाँ विदेश घुम्न जाने नेपालीले डलर साट्ने गरेका छन् ।
पछिल्लो समय विदेश घुम्न जानेको संख्यामा बृद्धि भएको छ । त्यसैगरी, पढ्न, औषधि उपचार, धार्मिक कार्यका लागि जाने क्रम पनि बढेको छ । विदेश पढ्न, घुम्न, औषधि उपचार, धर्म कर्मलगायतका लागि वार्षिक ९० अर्बभन्दा बढी सकिने गरेको छ । विदेशमा जाँदा सहज रुपमा डलर सटही गर्न नसकिएपछि सोर्स फोर्स लगाउने चलन पनि बढ्दै छ ।
बैंकहरुले डलरको सञ्चिति नभएको भन्दै नेपाली नागरिकलाई धमाधम रित्तो हात फर्काउन थालेपछि सोर्स फोर्स लगाएर डलर साटन बाध्य भएको उनीहरुको भनाइ छ ।
अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेको छ । राष्ट्र बैंकका अनुसार २०७५ असारसम्ममा १० अर्ब आठ करोड अमेरिकी डलर सञ्चित थियो । तर, त्यस्तो संञ्चितिमा क्रमशः कमी आउँदै गएको छ । २०७६ को असारसम्ममा डलर सञ्चिति घटेर ९ अर्ब ५० करोडमा आइपुगेको छ ।
डलरको सञ्चिति कम भएको भन्दै नेपाल राष्ट्र बैंकले विदेश जाने नेपालीलाई डलर सटहीमा समेत कटौती गरेको छ । अघिल्लो आर्थिक वर्षमा विदेश जाने नेपालीले करिब ८० अर्ब रुपैयाँ बराबरको अमेरिकी डलर साटेर बाहिर लगेपछि राष्ट्र बैंकले सटही सुविधामा कटौती गरेको हो ।
अन्तर्राष्ट्रियस्तरमा कम्तीमा ६ महिना वस्तु तथा सेवा आयात धान्न सक्ने रकम सञ्चित हुनुपर्ने मान्यता छ । तर, केन्द्रीय बैंकसँग त्यो मान्यताभन्दा कम अर्थात दुई÷तीन महिना धेरैका लागि डलर सञ्चित छ ।
राष्ट्र बैंकको यो व्यवस्थाले विदेश जाने सर्वसाधारणलाई समस्यामा पारेको छ । राष्ट्र बैंकले कुनै पनि नेपाली नागरिकलाई भारतबाहेक तेस्रो मुलुक जाँदा दुई हजार पाँच सय अमेरिकी डलर दिँदै आएको थियो । त्यसलाई कटौती गर्दै अहिले कुनै पनि व्यक्तिले नगदमा एक हजार पाँच सय अमेरिकी डलरभन्दा बढी सटही सुविधा नपाउने व्यवस्था गरेको छ ।
यसैगरी, राष्ट्र बैंकले शिक्षा, आप्रवासन, स्वास्थ्यलगायतका प्रयोजनका लागि अमेरिकी डलर पाँच हजारभन्दा बढी माग गर्ने नेपालीले अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले विगतका वर्षमा भन्दा केही रकम घटेकाले पूर्वसावधानी अपनाउन यस्तो व्यवस्था गरिएको बताएको छ । राष्ट्र बैंकले नगद सुविधाबाहेक टीटी सुविधा पनि घटाएको छ । यसअघि ४० हजार अमेरिकी डलरको टीटी सुविधा घटाएर ३० हजारमा झारिएको छ । डलर सञ्चितिमा कमी आएका कारण डलरमा कटौती गर्न राष्ट्र बैंक बाध्य भएको हो ।
डलरको भाउ महँगो बन्दै जाँदा विदेश जाने नेपालीलाई समस्या परेको त छ नै त्यसमा पनि झन्झटिलो सटहीले समस्या झनै जटिल बनेको छ । अहिले एक अमेरिकी डलर सटही गर्न करिब ११३ रुपैयाँ तिनुपर्ने हुन्छ ।
अमेरिकी डलर नगद थोरै दिने र डेबिट–क्रेडिट कार्ड, ड्राफ्टलगायत अन्य उपकरण प्रयोग गर्न बाध्य बनाउने यसो गरिएको केन्द्रीय बैंकको भनाइ छ । राष्ट्र बैंकको यस्तो नीति मुलुकका लागि हितकारी भए पनि व्यक्तिका लागि उपयुक्त नभएको बिज्ञहरुको भनाइ छ । विदेश जाँदा नेपालीले नगदै डलर लैजान खोज्छन् । तर, उनीहरुले सजिलैसँग साट्न सकिरहेका छैन ।
अमेरिकी डलरको सञ्चित घटेका कारण राष्ट्र बैंकले सुविधा कटौती राष्ट बैंक विदेशी विनिमय विभागका अधिकारीको भनाइ छ । ‘विदेशी मुद्राको सञ्चिति घट्दै गयो भने आयात धान्नलाई रकम पुग्दैन र मुलुक अप्ठ्यारो अवस्थामा पुग्छ,’ उनले भने–‘ त्यसैले पनि राष्ट्र बैंक यस्तो नीति ल्याउन बाध्य भएको हो।’
राष्ट्र बैंकसँग भएको विदेशी मुद्राको सञ्चितिले वस्तु तथा सेवाको बढ्दो आयात धान्न, सरकारले विदेशी निकायसँग लिएको ऋण तिर्न, औषधि उपचार गर्न विदेश जाने, पढ्न र भ्रमणमा विदेशी जानेलाई सुविधा दिनुपर्छ । अमेरिकी डलर बलियो बन्दै गएको र नेपाली रुपैयाँ इतिहासकै कमजोर भएकाले पनि अमेरिकी डलरको जोहो गर्ने बढेपछि त्यसलाई निरुत्साहित गर्न राष्ट्र बैंकले कडा नीति अख्तियार गरेको बताइन्छ । तर, यसको असर सर्वसाधारणलाई बढी परेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस