
चितवन । चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना सुरु भएको छ । ईच्छाकामना गाउँपालिका १ र ३ बाट उपनिर्वाचनको मतगणना सुरु गरिएको हो ।
आज बिहान बसेको सर्वदलीय बैठकले दिउँसोबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो । आइतबार राति बसेको सर्वदलीय बैठकबाट सहमति जुट्न नसकेपछि आज पुनःबसेको बैठकले दिउँसोबाट मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । त्यसमा ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्याङ्क रहेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका थिए । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रोलिङ्गी रहेका छन् ।
यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले पदबाट हटाउने आदेशपछि उपनिर्वाचन भएको हो ।
प्रतिक्रिया दिनुहोस