काठमाडौं । चितवन–२ को मतगणना शुरु भएको छ । सुरुवाती मत परिणाम अनुसार एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले सुरुवाती अग्रता हासिल गरेका छन् ।
यो समाचार तयार पार्दासम्म न्यौपानेले ३६७ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो स्थानमा रहेका छन् । उनले ३१९ मत ल्याएका छन् ।
त्यस्तै, सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठले २४४ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जीवलाल पुरीले ८ मत ल्याएका छन् ।
चितवन–२ मा रास्वपाका सभापति लामिछानेको सांसद पद सर्वोच्च अदालतबाट खारेज भएपछि उपनिर्वाचन भएको हो । उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ ।
यस क्षेत्रमा ७८ हजार दुई सय ७७ मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९७ जना मतदाता रहेका थिए । सोमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस