
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न सुझाव दिएका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उनले मुलुकको विषम आर्थिक परिस्थितिमा आगामी बजेटमा समेट्नुपर्ने विषयका बारेमा पार्टीका तर्फबाट सुझाव दिन सांसदहरुलाई आग्रह गरेका हुन् ।
नागरिकका आवश्यकता सम्बोधन हुने गरी आगामी बजेट निर्माण हुनुपर्ने उनको भनाइ थियो । बैठकमा अर्थमन्त्री एवं पार्टीका नेता डा प्रकाशशरण महतले विषम आर्थिक अवस्थालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट बनाइने जानकारी गराएको राष्ट्रिय सभामा कांग्रेसका प्रमुख सचेतक अनिता देवकोटाले बताए । मन्त्री डा.महतले आगामी बजेटमा राख्नुपर्ने प्राथमिकताका बारेमा सांसदहरुको सुझावका लागि आग्रह गरेका थिए ।
उनले सांसदहरुले राख्नुभएका जिज्ञासाका बारेमा टिपोट गरेका र मङ्गलबारको बैठकमा जवाफ दिनुहुनुे बताइएको छ । सांसदहरुले सुझाव दिने क्रम बाँकी रहेकाले कांग्रेस संसदीय दलको बैठक भोलि बिहान १०ः३० बजे पुनः बस्ने प्रमुख सचेतक देवकोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस