
एजेन्सी । कोभिडको विश्वव्यापी महामारीपछि संसारभरका अर्थतन्त्रमा बढ्दै गएको अनिश्चितताका बीच धेरै मुलुकका केन्द्रिय बैंकहरुले सुनको भण्डारण बढाइरहेका छन् । यसै क्रममा भारतको केन्द्रीय रिजर्भ बैंक (आरबीआई)ले सुरक्षित सम्पत्तिको रूपमा सुन खरिदलाई निकै बढाएको छ । मार्च २०२० र मार्च २०२३ को बिचमा आरबीआईले १३७.१९ टन सुन किनेको थियो ।
यससँगै आरबीआईको सुनको भण्डार ७९ प्रतिशतले बढेर ३.७५ लाख करोड (७९०.२० टन) भन्दा बढी पुगेको छ। योसँगै आरबीआई सबैभन्दा बढी सुन भण्डारण गर्ने विश्वको आठौँ केन्द्रीय बैंक बनेको छ । मार्च २०, २०२० मा आरबीआईको सुनको रिजर्भ कुल विदेशी मुद्रा सञ्चितिको लगभग ६ प्रतिशत थियो, जुन २४ मार्च २०२३ सम्ममा बढेर ७.८५% पुगेको छ।
केन्द्रीय बैंकको सुनको भण्डार सन् १९६७ यताकै उच्च रहेको छ । विश्व सुन काउन्सिलका अनुसार सन् २०२२ मा केन्द्रीय बैंकहरूले १,१३६ टन सुन रिजर्भमा थपेका थिए । यसको लागत ५.७३ लाख करोड रुपैयाँ छ । यो सन् १९६७ यताकै उच्च हो ।
सुनले विश्वव्यापी अनिश्चितताको समयमा प्रभावकारी क्रस बोर्डर मुद्राको रूपमा काम गर्दछ। थप मुद्रा छाप्दा समर्थनको लागि सुनको भण्डार बढाउन आवश्यक हुन्छ। त्यसैले सुनलाई धेरै भरपर्दो सम्पत्ति मानिन्छ किनभने यो विदेशी मुद्रा भन्दा सुरक्षित छ। देशको सुनको भण्डार सन् २०२० देखि लगातार बढ्दै गएको छ र अहिले त्यो बेलाको भन्दा झन्डै दोब्बर भएको छ ।
विदेशी मुद्रा र गोल्ड रिजर्भको अवस्थाको तुलना गर्दा नै सुन खरिदको मात्रा धेरै बढेको स्पष्ट रुपमा देखिन्छ । २० मार्च २०२० मा भारु ३२.८३ लाख करोड रुपयांको विदेशी मुद्रा रिजर्भ रहेको थियो । त्यसको मूल्य २.०९ लाख करोड भारु हुन आउँछ । त्यसको एक वर्षपछि १९ मार्च २०२१ मा विदेशी मुद्रा रिजर्भ ३९.२४ लाख करोड हुँदा २. ५१ लाख करोडको सुन रहेको थियो । अहिले २४ मार्च २०२३ मा ४२.०४ लाख करोड भारु बराबरको विदेशी मुद्रा सञ्चिति हुँदा भारतको केन्द्रिय बैकसँग ३.७५ लाख करोडको सुन रिजर्भ रहेको छ ।
प्रतिक्रिया दिनुहोस