
काठमाडौं । नेपाली बजारमा २० वर्षमा प्रतितोला सुनको भाउ एक लाख रुपैयाँसम्म बढेको छ । विगत दुई दशकमा सुनको मूल्यमा भएको वृद्धिको तथ्याङ्क हेर्दा यस्तो देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घको तथ्याङ्क अनुसार वि.सं. २०५९ साल वैशाख ०२ गते सुनको प्रतितोला ९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । तर, वि.सं. २०७९ सालको चैत्र ३० गते सुनको मूल्य प्रतितोला एक लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
दश वर्षमा ४४ हजारले बढ्यो
गएको चैत्र २२ गते बुधबार सुनको मूल्य हालसम्मकै उच्च भएको थियो । त्यो दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँ पुगेको थियो ।
त्यसो त सुनको मूल्य अहिले मात्रै बढेको होइन । वि.सं. २०५९ सालदेखि वि.सं. २०६९ सालसम्मको एक दशकमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको महासङ्घको तथ्याङ्कमा देखिन्छ । अध्ययनको पहिलो दशक मा नै सुनको मूल्य ४४ हजार आठ सय रुपैयाँले बढेको देखिन्छ ।
वि.सं. २०६९ सालदेखि वि.सं. २०७० सालको एक वर्षको अवधिमा भने नेपाली बजारमा सुनको मूल्य घटेको थियो । वि.सं. २०६९ सालको वैशाख २ गते प्रतितोला ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य वि.सं. २०७० सालको वैशाख २ गते आइपुग्दा प्रतितोला ५२ हजार पाँच सय रुपैयाँ मात्रै रहेको थियो ।
तर, सुनको मूल्यमा आएको त्यो गिरावट लामो समय सम्म रहेन । वि.सं. २०७१ सालमा पुनः बढेर प्रतितोला ५४ हजार ६ सय रुपैयाँ पुग्यो । त्यसपछि पनि उतार चढाव जारी रह्यो । सुनको मूल्य वि.सं. २०७२ सालमा भने घटेर ५१ हजार चार सय रुपैयाँमा झरेको थियो । त्यसयता भने सुनको मूल्य निरन्तर बढेको देखिन्छ ।
एक वर्षमा १८ हजारले महँगियो
कोरोना महामारी अघिसम्म अर्थात् वि.सं. २०७६ सालको चैत्र १० गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७७ हजार तीन सय रुपैयाँ रहेको थियो । जबकि त्यो वर्षको पहिलो महिनाको २ गते सुनको मूल्य ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसरी त्यो वर्ष एकै वर्षमा सुनको मूल्य लगभग १८ हजार रुपैयाँ प्रति तोलाले वृद्धि भयो । कोरोना महामारीको बेला उकालो लागेको सुनको मूल्य त्यसपछि पनि ओरालो लागेन ।
वि.सं. २०७७ सालको वैशाख २ गते प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य वि.सं. २०७९ साल वैशाख २ गतेसम्म आइपुग्दा प्रतितोला एक लाख ३ हजार रुपैयाँ पुगेको थियो। यसरी ०७७ साल यताका दुई वर्षमा २४ हजार रुपैयाँ प्रति तोलाले बढ्यो ।
किन अकासियो सुनको मूल्य ?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढिरहेकाले त्यसको असर नेपालमा पनि देखिएको हो । अन्तर्राष्ट्रिय बजार अस्थिर बन्दा धेरै लगानीकर्ता सुनतर्फ आकर्षित भएकोले पनि यसको मूल्य बढेको हो । डलरको भाउ बढ्ने र भारतीय रुपैयाँ कमजोर हुने गर्दा समेत नेपालमा सुनको भाउ बढ्ने गरेको उनको तर्क छ ।
अर्थतन्त्र कमजोर रहेको अवस्थामा लगानीकर्ताहरूले सुनमा लगानी गर्न चाहने गरेको उनले बताए । अध्यक्ष शाक्यले भने, ‘अर्थतन्त्र कमजोर हुँदा लगानीकर्ताहरूको शेयरमा लगानी गर्ने विश्वासमा कमी हुन थाल्छ । यसले गर्दा लगानीकर्ता सुनमा आकर्षित हुने गरेका छन् । सुनको मागमा वृद्धिको कारण नै सुनको मूल्य बढ्दै गएको हो ।’
काँचो सुनमा लगानी गर्ने वातावरण नेपालमा नभएको बताउँदै उनले भने, ‘नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्नको लागि शेयर किन्न सकिन्छ । तर, सुन किन्न पाइँदैन । गहना किन्न पाइन्छ तर, सुन किन्न पाइँदैन । गहना भनेको सुन होइन । गहना धारण गर्न मिल्ने सामान भयो भने सुन भनेको उपभोग भन्दा पनि लगानी गर्ने सामान हो ।’
नेपाल खुल्ला नभएर नियन्त्रित अर्थतन्त्र भएको प्रमाण
सुनमा लगानी गर्न नपाउने हो भने नेपाललाई नियन्त्रित व्यवस्था भएको देश भन्न सकिने उनले बताए । सरकारले विभिन्न क्षेत्रमा लगानीको कल्पना गरिराख्दा नेपालका घरघरमा रहेको सुनलाई राष्ट्रिय सम्पत्तिको रुपमा मान्ने या नमान्ने भन्ने प्रश्न पनि खडा भएको उनले बताए ।
‘नेपालीले आज भन्दा १० वर्ष अगाडी किनेको सुनको मूल्य अहिले दोब्बर भएको छ । यसले नेपालीको सम्पत्ति बढेको छ । यसलाई विलासीको सामान भनेर कसरी भन्ने ?’, उनले प्रश्न गर्दै अगाडी भने, ‘विलासीको वस्तु भनेको त भनेको त एक करोडको सामान किन्दा १० वर्षमा त्यसको मूल्य एक लाख पनि आएन भने पो त्यो विलासीको वस्तु भयो त ।’
उनका अनुसार सुन भनेको उपभोग गरेर सकिने सामान होइन । यसको मूल्य बढ्दै जाने गर्छ । यसले गर्दा नेपालीहरूले काँचो सुनमा लगानी गर्न पाउनु पर्ने उनको तर्क रहेको छ । ‘घरजग्गा शेयरमा लगानी गरेजस्तै सुनमा लगानी गर्न पाउने वातावरण सरकारले बनाउनु पर्छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस