aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रास्वपालाई "रविको पार्टी" कै रुपमा राख्ने या "महावीर पुनको आविष्कार केन्द्र"बाट यस्ता कुरा सिक्ने ?

  • नविन अधिकारी
    नविन अधिकारी
  • शुक्रबार, १५ बैशाख २०८०
रास्वपालाई "रविको पार्टी" कै रुपमा राख्ने या "महावीर पुनको आविष्कार केन्द्र"बाट यस्ता कुरा सिक्ने ?

आर्थिक पाटो के कस्तो छ, उनै जानुन् । तर, उद्देश्यको विषयमा "राष्ट्रिय आविष्कार केन्द्र" का संस्थापक डा. महावीर पुन भन्छन् "मैले आविष्कार गर्ने होइन। मैले त एउटा प्लेटफर्म बनाएको मात्रै हो।"

उनले आफ्नो कर्मलाई अझ स्पष्ट रुपमा बुझाउने गरेका छन्, " जसले केही आविष्कार गर्छु भन्ने आँट गर्छ, आइडिया लगाउँछ, उसलाई यो संस्थामा स्वागत छ। हामी उसलाई निःशुल्क सल्लाह, सहयोग, औजार, खाना, बस्न दिन्छौँ। सहयोगी हात पनि दिन्छौँ। उसले आविष्कार गरेछ भने बजार खोज्न पनि सहयोग गर्छौँ।"

हो, यदि फुल्ने उपयुक्त बगैँचाको अभावमा कतै ठिँगुरिएर बस्न बाध्य वास्तविक क्षमता र प्रतिभाहरूलाई यो भन्दा राम्रो अर्को अवसर केही हुन् सक्दैन । जोसँग सीप छ तर सिर्जनाको वातावरण पाएको छैन । जो स्वछन्द यात्रा गर्न चाहन्छ तर हिँड्ने गोरेटो भेटेको छैन भने त्यस्तालाई दौडने सुविधा यसरी नै हो, उपलब्ध गराउने । जुन महावीरले गरेका छन् ।

तर, उनै महावीर बैशाख १५ गते शुक्रबार माइतीघरमा आन्दोलनमा उत्रिएका छन् । सरकारले नवप्रवर्धकलाई रक्षा गरोस्, उत्पादन र रोजगारी बृद्दिमा ध्यान देओस्, नयाँ आविष्कारका लागी वातावरण बनाओस् जस्ता माग राख्दै सडकमा उत्रन उनी किन बाध्य भए ? कहाँ चुके उनी वा किन उनले अघी बढाएको सत्कर्ममा आवश्यक सहयोगी हात जुट्न सकेनन् ? यस्ता प्रश्नको जवाफ बिभिन्न तरिकाले खोज सकिन्छ । एउटा सम्भावित कारण यो आलेखको अन्त्य तिर पनि उल्लेख गरिएको छ ।तर, विषय प्रवेशको लागि निम्त्याएको यो प्रसङ्ग अहिलेलाई यति मै छाडौँ ।

यहाँ उठान गर्न खोजिएको खास विषय हो, रवि लामिछाने र उनको राजनीतिका दल राष्ट्रिय स्वतन्त्र पार्टीको । र, विचार मन्थनको कोण हो, यसको आगामी यात्राका सम्भावना र चुनौती । अनि उनले गर्नै पर्ने केही निर्णय र सुधार्नै पर्ने केही शैलीबारे पनी यहाँ चर्चा गरिएको छ।

 एक टेलिभिजन कार्यक्रम मार्फत आफू चर्चाको शिखरमा रहँदै गर्दा तत्कालीन सञ्चारकर्मी रवि लामिछानेले एउटा फरक किसिमको रियालिटी सो घोषणा गरे, "दि लिडर्स"। विभिन्न रियालिटी सोबाट कलाकारहरू उदाए जस्तै उनले टेलिभिजन कार्यक्रम (रियालिटी सो) बाट नेता जन्माउने उद्देश्य लिँदै थिए। जुन आफैमा आश्चर्यजनक, हास्यास्पद जस्तो पनि लाग्दथ्यो भने असम्भव नै चाहिँ लागेको थिएन।

तर, उनको त्यो घोषणाले नै एउटा तरङ्ग भने ल्याएको थियो । ढुङ्गा हानेर, टायर बालेर, विद्यार्थी/ शिक्षक लगायत विभिन्न भातृ सङ्गठन हुँदै राजनीतिमा आउन तम्सेका युवाहरूलाई त्यसले अत्त्याउनु स्वाभाविकै पनि थियो । त्यसैले  त्यति बेलै रविको चर्को विरोध भएको थियो ।

त्यसो त त्यसअघि नै राजनीतिमा चासो नराखेका तर सम्भावना बोकेका युवाहरूलाई अनि कुनै दलमा आबद्ध भए पनि क्षमता अनुरूप जिम्मेवारी नपाएका "ट्यालेन्ट" हरूलाई समेट्ने भन्दै बाबुराम भट्टराई, रवीन्द्र मिश्र र उज्ज्वल थापाले नयाँ शक्ति, साझा र विवेकशील पार्टी खोलिसकेका थिए। तर, ती नयाँ "दोकान"मा ग्राहकको खासै चासो देखिएको थिएन ।

यस्तो लाग्थ्यो 'ग्राहक आउँथे, हेर्थे, बुझ्थे, राम्रै होस् भन्ने कामना गर्थे तर केही खरिद गर्दैनथे'। यसलाई नजिकबाट नियालिरहेका रवि लामिछानेले त्यस बेला नै के सोचेको देखिन्छ भने गैर राजनीतिक युवालाई या पुराना पार्टीमा रहेका तर अवसर नपाएका प्रतिभालाई राजनीतिमा ल्याउने एउटा गेटवे त चाहिएको छ तर नयाँ पार्टी खोलेर त्यो सम्भव छैन। त्यसैले उनले तत्कालका लागि राजनीतिको भूत छोडे । अनि पार्टी होइन, आफ्नै टेलिभिजन खोल्न तिर लागे।

त्यसपछि केही समय उनी राजनीति र मिडिया कतै पनि खासै चर्चामा आएनन्। आफैँले खोलेको नयाँ टेलिभिजनमा कार्यक्रम चलाएर बसे । तर, गत साल स्थानीय निकायको चुनावमा अप्रत्याशित रुपमा मेयरका स्वतन्त्र उमेद्वारहरु बालेन र हर्कले जित्नासाथ रविको राजनीति गर्ने पुरानो रहर फेरी टुसायो । अनि एकाएक राजनीतिमा हाम फाल्न आइपुगे।

उनको त्यो कदमलाई व्यक्ति अनुसार विभिन्न तरिकाले व्याख्या गरियो। विशेषतः उनले आफ्नो पार्टीको नाममा "स्वतन्त्र" शब्द घुसाएकाले पनि उनले स्वतन्त्रको क्रेजलाई "ग्र्याब" गर्न खोजेको कडा टिप्पणी भयो। यसरी उनी व्यवहारिक रुपमा अलिक बढी  अवसरवादी पनि देखिए, बाढीले बगाएर ल्याएका माछा पक्रने "भल छोपुवा माझी" जस्तो ।

न कुनै अनुभव, न कुनै आधार, एकाएक राजनीतिमा आइपुग्दा कतिपयले उनको नाम "रवि" को पछाडि "न्द्र" पनि झुन्ड्याए। धेरैले सोचेका थिए अब उनी पनि रवीन्द्र मिश्र कै पथमा अघि बढ्नेछन् र कतै थन्कने छन् ।  सफलताको स्वाद नाचाखिकन उनी ओझेल पर्ने छन्, मिश्र जस्तै ।

उनले सोचे झैँ स्थानीय निकायको चुनावमा "लौरो" बोकेकाहरूले सपोर्ट नगरे पनि पार्टी खोलेको केही महिना मै चुनाव लडे । अप्रत्याशित रुपमा एउटा महत्त्वपूर्ण दल बनाउन सफल भए । अन्य दलको लागि २०७९ सालपछि अर्को प्रतिनिधि सभाको चुनाव एकैचोटी २०८४ सालमा आउँछ। तर "रविको पार्टी" को लागि त्यसो भएन। कथाले मागे अनुरूप २०८० मै उनले चुनाव लड्ने सौभाग्य पाए।

अदालती निर्णयका कारण उपप्रधानमन्त्री पद गुमाएका उनलाई आफ्नो बढ्दो या घट्दो हैसियतको एक ट्रेलर देखाउन यसले सहयोग गर्‍यो। उपनिर्वाचनमा  तनहुँ र उनको क्षेत्र चितवन यस कारण बढी चर्चित भयो कि ती क्षेत्रका चुनावलाई जम्मा दुई भागमा बाँडेर हेरियो "रवि पार्टी" र "एन्टी रवि पार्टी" ।

परिणामले "रवि पार्टी" जनलहर र विश्वासका आधारमा धेरै अगाडि देखियो। चुनावको नतिजा आउनु अगाडि नै "रवि पार्टी" ले "एन्टी रवि पार्टीज" लाई जितिसकेको थियो। यस सँगै बुझ्नेहरूको लागि या बुझ्न चाहनेहरूको राजनीतिको "कोर्स परिवर्तन" भैसकेको छ।

देशको तेस्रो ठूलो दलका अध्यक्ष प्रधानमन्त्रीले उपनिर्वाचनको चुनावमा आफ्ना दलको उम्मेदवार नै नउठाई "एन्टी रवि पार्टी"का उमेद्वारलाई सम्बन्धित क्षेत्र मै पुगेर "साझा उम्मेदवार" भने। सन्देश स्पष्ट छ, अबको चुनावमा जम्मा दुई खालका मात्र दल चुनावी मैदानमा  हुनेछन्। एउटा पुराना दलहरूको गठबन्धन  (एन्टी रवि दल), अर्को नयाँ दल (रवि दल) ।

 रवि दलले भन्नेछ "हाम्रो पार्टी परिवर्तन चाहने अग्रगमनकारी दल हो, हामी बाहेकका दल यथास्थितिवादी दल हुन् "। त्यसैगरी एन्टी रवि दलले भन्नेछ "हामी स्वदेशी दल, उनीहरू विदेशी दल।" यस्तै यस्तै आरोप र प्रष्टीकरण बीच एन्टी रवि दलले रवि दललाई बदनाम गर्न जेलेनस्की हुँदै सिक्किम सम्मको उदाहरण दिनेछन्। र, यदि रविले अहिले नै बुद्धि पुर्‍याएनन् भने त्यो बेला उनलाई निकै गाह्रो पर्नेवाला छ ।

तर, अहिले नै त्यो सम्भावनालाई निस्तेज पार्न केही गर्नै पर्ने हुन्छ रविले । के गर्ने भन्ने थप स्पष्ट पार्न फेरी सम्झौँ उनै, महावीर पुनलाई ।

पुनको  "राष्ट्रिय अविश्वास केन्द्र" खुलेको यत्तिका समय हुँदा पनि त्यसले उलेख्य प्रगति गर्न नसक्नुको एउटा प्रमुख कारण हो, औपचारिक रुपमा नभए पनि सबैले सम्बोधन गर्दा  त्यसको  नामको अगाडि "महावीर पुनको" भन्ने ट्याग झुन्ड्याइनु । जब सबैले 'महावीर पुनको' भनेर सम्बोधन गरे त्यो सबैको साझा भन्ने तथ्य लुक्यो । पुनले जतिसुकै यो मेरो होइन, सबैको हो भनेर चिच्याए पनि अब एउटा भाष्य नै निर्माण भैसकेको छ- महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र ।

हो, त्यही अवस्था बनेको छ, स्वतन्त्र पार्टीको सन्दर्भमा पनि । यदि "रविको पार्टी" पनि देशको प्रमुख दल हुने हो भने रवि कै सपना अनुरूप गैर राजनीतिक ट्यालेन्ट या पुराना दलले  अपमानित गर्दै  भित्तामा पुर्याएकाहरुलाई उनले त्यो पार्टी सुम्पिनुपर्छ । रविले आफ्नै सपना अनुसार वास्तविक 'लिडर'  उत्पादन गर्ने तर्फ ध्यान दिनुपर्छ । गाउँ गाउँका बच्चा देखि वृद्धसम्मले उनको पार्टीलाई "रविको पार्टी" नभनी " राष्ट्रिय स्वतन्त्र पार्टी" भन्ने वातावरण बन्नुपर्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी कुनै व्यक्तिको नामले  होइन यसका उद्देश्य र लक्षले चिनिनु पर्दछ। त्यसो हुन सक्यो भने  नेपालमा एउटा सम्भावनायुक्त वैकल्पिक राजनीति शक्तिको  जन्म भइसकेको छ । त्यो अब "राष्ट्रिय नेता उत्पादन केन्द्र" बन्नुपर्छ । यदि यो दल "रविको दल" नै रही रह्यो भने चाहिँ यस दल भित्रै "रवि" र "एन्टी रवि" बिचमा द्वन्द्व हुनेछ। अनि जसरी उदाएको छ  त्यसरी नै अस्ताउने छ ।

यस बाहेक सुन्नमा आए अनुसार पार्टीको निर्णय प्रक्रियामा उनको हिटलरी शैली हावी छ । उनि पार्टी बैठकमा प्रस्ताव पेश गर्दैनन् एकैपटक निर्णय सुनाउँछन् भन्ने दुखेसो रास्वपाका नेताहरुले नै गुनासोको रुपमा व्यक्त गर्ने गरेका छन् । यदी त्यसमा उनले सुधार नगर्ने हो र केपी ओली अनि प्रचण्डलाई नै गुरु थापेर उनीहरुले नै गर्दै आएको शैलीमा पार्टीको निर्णय प्रक्रियालाई निरन्तरता दिने हो भने त उनको शिघ्र अवसान अझ निश्चित छ । 

प्रतिक्रिया दिनुहोस