aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपालमै बनेका सवारीसाधनले अब  वैधानिक हैसियत पाउने

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, १५ बैशाख २०८०
नेपालमै बनेका सवारीसाधनले अब  वैधानिक हैसियत पाउने

काठमाडौं । नेपालमै बनेका सवारीसाधनले अब भने वैधानिक हैसियत पाउने भएका छन् । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा अड्चन फुकाएको हो । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता गर्न मिल्ने व्यवस्था ल्याएको हो ।

यसअघि, सवारी दर्ता हुन यातायात तथा सवारी ऐन–२०४९ र बाग्मती प्रदेश यातायात तथा सवारी ऐनले तोकेको प्रक्रियाले नेपालभित्र बनेका सवारी दर्ता गर्न नमिल्ने व्यवस्था रहेको थियो ।

निर्देशिकामा ‘११.१.९’ नम्बर बुँदा थप गर्दै लेखिएको छ,‘ यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि विदेशबाट पार्टपुर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारीलगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्नेछैन ।’

यस आधारमा अब नेपालमा बनेका सवारीले दर्ताका लागि प्रज्ञापनपत्र (एलसी) खोलेको प्रमाण बुझाउनु नपर्ने भएको छ । नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारीलगायतका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि करबिजक र प्रचलित कानुनबमोजिम अन्तः शुल्कसम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तः शुल्क निकासी फारमसमेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस