माणिकरत्न शाक्य, नेपालका सुनचाँदी व्यवसायीहरू बीच सर्वाधिक स्थापित नाम हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष समेत रहेका शाक्यले विगतमा विभिन्न पदमा कार्यरत रहेर व्यवसायीहरूको सेवा गरिसकेका छन् । सुनको व्यापारमा पनि सरकारले उदारवादी नीति अवलम्बन गर्नुपर्छ भन्ने मान्यता अत्यन्तै स्पष्ट र जोडदार रूपमा राख्दै आएका उनी सरकारको गलत नीतिका कारण सुनचाँदी व्यवसाय नै प्रदूषित बनेको टिप्पणी गर्छन् । उनै शाक्यसँग आर्थिकन्युजकी रिता राउतले हाल सुनचाँदी व्यवसायमा देखिएका समस्या र त्यसको निराकरणका लागी सरकारले चाल्नुपर्ने कदम के कस्ता हुन् भन्ने विषयमा कुराकानी गरेकी छिन् । प्रस्तुत छ, सो संवादको सम्पादित अंश :
अहिले बजारमा सुनचाँदी कारोबारको अवस्था कस्तो छ ?
नेपालको समग्र अर्थतन्त्रमा परेको असर नेपाली सुन बजारमा पनि देखिएको छ । बजारमा सुनको जुन किसिमले खरिदबिक्री हुनु पर्ने हो त्यो अनुसार भएको छैन । चैत्र महिनामा सुनको मूल्य हालसम्म कै उच्च भएको थियो । यसले गर्दा पनि बजारमा सुनको माग धेरै भएन ।
तर, अघिल्लो महिनाको तुलनामा वैशाखमा सुनचाँदीको कारोबार बिस्तारै बढेको छ । अहिले दैनिक २५ देखि ३० केजीसम्म सुनको माग हुने गरेको छ । यो महिना विवाहको सिजन भएकोले पनि सुनचाँदीको माग धेरै हुने गर्छ । माग बढेकोले आगामी दिनमा सुनको बजार चलायमान हुन्छ भन्ने हाम्रो आशा छ ।
विश्वव्यापीकरण सुनप्रतिको आकर्षण कसरी बढिरहेको छ ?
हरेक मानिसहरूमा आफ्नो परिवार समृद्ध राख्नका लागि सम्पत्तिको जगेर्ना गर्नु पर्छ भन्ने सोच हुन्छ । विभिन्न सम्पत्ति जोड्ने सोच राख्दा सबैभन्दा सुरक्षित सम्पत्ति भनेको सुन नै हो । इतिहासको रेकर्ड हेर्ने हो भने सम्पत्तिका रुपमा सुन जोड्नेहरू घाटामा गएका छैनन्, नाफा नै भइरहेको छ । यसले गर्दा धेरै मानिसहरूमा सुनमा लगानी गर्नु पर्छ भन्ने सोच देखिन्छ ।
तर, नेपालमा सुनमा लगानी गर्नु पर्छ भन्ने सोच धेरैमा पाइएको छैन । सरकारले पनि सुनचाँदी भनेको विलासीको वस्तु हो भनेर भनिदिएको छ । नीति पनि त्यस्तै किसिमको बनाइएको छ । उपभोग गर्नका लागि किनिएका लुगा, जुत्ता, सवारी जस्ता साधनहरू उपभोग गरेपछि सकिन्छ । त्यसको मूल्य शून्य भएर जान्छ । तर, सुनचाँदीको सामान १०/२० वर्षसम्म उपभोग गरेर बिक्री गर्छु भने पनि त्यसको मूल्य बढिरहेको नै हुन्छ । यसको मूल्य घटेको हुँदैन । यसले गर्दा सम्पत्तिका रुपमा नजानिँदो पाराले सुनका गहना जोड्ने गरेको पनि पाइन्छ ।
पछिल्लो समय सुनलाई धितोका रुपमा स्विकार्न बैङ्कहरूले सहज मान्दैनन् । सुन प्रतिको विश्वास घटेर यस्तो भएको हो ?
सुनको कहीँ कतै कहिलेकाहीँ डिफल्टहरु भएको, फ्रड भएका घटनाहरू सार्वजनिक भएका छन् । जलप मात्रै लगाएको सुनहरू राखेर पैसा लिने गरेको समेत पाइएको छ । यसो हुँदा बैंकका कर्मचारीहरू समेत जेल गएका छन् ।
बैंकले लगानी गर्दा आफ्नो लगानीको सुरक्षा खोज्छ । यसले गर्दा पछिल्लो समय बैङ्कहरूले पहिला जसरी सुन धितोमा राखेर ऋण दिने भन्ने कुरा क्रमशः कम भएको देखिको हो । तर, कतिपय बैंकहरुको गोल्ड लोन भन्ने स्किमहरू रहेको छ । त्यसमार्फत पनि ऋण प्रवाह भइरहेको छ ।
तपाईँ व्यवसायीहरू दैनिक दश केजी सुन पाउनु हुन्छ । बजारमा माग ३० केजीसम्म छ भन्नु हुन्छ । यस्तो अवस्थामा बजारको मागलाई कसरी धानिरहनु भएको छ ?
बजारमा जुन किसिमको माग छ त्यस अनुसारको सप्लाई भइरहेको छैन । विशेषगरि सरकार र नेपाल राष्ट्र बैंकले ध्यान पुर्याउनु पर्ने हो । नेपालको बजारलाई आवश्यक भएको सुन वैध च्यानलबाट ल्याउन दिने कि अवैध च्यानलबाट दिने भन्ने विषय महत्त्वपूर्ण हो । अवैध च्यानलबाट ल्याएर नेपाललाई कुनै फाइदा छैन । भलै दुई चार जना मानिसहरू मोटाउलान् । तस्करहरू फस्टाउलान् ।
तर, समग्रमा नेपालको अर्थतन्त्र यसले धराशायी बनाउँदछ । यी कुराहरूलाई नै ध्यानमा राखेर हामीले सरकारलाई नेपालको बजारमा दैनिक २५ देखि ३० केजीसम्म सुन उपलब्ध गराउनु पर्यो, त्यो पनि वैद्य च्यानलबाट भनेर भनिरहेका छौँ । बजारको माग अनुसारको सप्लाई हुने संरचना नेपाल सरकारले बनाउनु पर्छ ।
माग अनुसारको सुन आपूर्ति नुहुन भनेको तस्करहरू मौलाउनका लागि ठाउँ दिनु नै हो । यसले सरकारको राजस्व गुमिरहेको हुन्छ । तस्करहरू मैलाए भने बजार उनीहरूप्रति नै भर पर्न जान्छ । यी कुराहरूलाई सरकारले तत्कालै रोक्न पर्ने हुन्छ ।
यहाँहरूले लामो समयदेखि सुनको कोटा बढाउन माग गरिरहनु भएको छ । सम्बोधन हुन सकेको छैन । सरकारले नै ‘ग्रे मार्केट’लाई प्रोत्साहन गरेको हो त ?
नेपाल सरकारको पनि आफ्नो बाध्यता होला । उहाँहरूले ‘ग्रे मार्केट’लाई प्रोत्साहन गरेको हो नै भन्न सकिन्न । हामीले नेपाली सुन बजारको अवस्था बाध्यता र भोलि हुने अवस्थाको बारेमा राम्रासँग चित्र सरकारलाई बारम्बार देखाइरहेका छौँ । तर, सरकारले ठोस निर्णय लिएकै छैन। यसबारे सरकारले चाँडै नै निर्णय गर्नु पर्छ भन्ने हाम्रो माग हो ।
नेपालबाट भारतमा ठुलो मात्रामा तस्करी भइरहेको छ भन्ने सुनिन्छ नि ?
नेपाल र भारतको खुल्ला बोर्डर छ । यसले गर्दा दाल चामल समेत जता सस्तो पर्छ त्यतै लिने दिने गरिन्छ भने सुनचाँदी भनेका त महँगो धातु भयो । सुनचाँदीको तस्करी पनि नेपालबाट भएको हुनसक्छ । तर, नेपालमा कति सुनचाँदी खपत भयो र कति तस्करी मार्फत बाहिर गयो भनेर ठ्याक्कै भन्ने सकिँदैन । सबै कुरा तथ्याङ्क बाहिर आउँदैन । के भन्न सकिन्छ भने तस्करी हुन्छ, भइरहेको छ । त्यसलाई नियन्त्रण गर्नु पर्छ र तस्करी हुने ठाउँलाई टाल्ने काम सरकारले गर्नु पर्छ ।
सुन चाँदी भारततिर मात्रै तस्करी हुन्छ भन्ने छैन । कुनै कुनै बेला नेपालतिर पनि आउने गर्छ । भारत र नेपालको सुनचाँदीको मूल्य तलमाथि हुँदा दुबैतिर आउने जाने हुन सक्छ । यसले गर्दा आम मानिसहरूले सुनचाँदीको व्यवसाय तस्करीमा आधारित पो हो की भन्ने जस्तो भइसक्यो ।
व्यापारीहरूले वैद्य च्यानलबाट भन्दा अवैध च्यानलबाट बढी सुनचाँदी लिने गर्छन् भन्ने सुनिन्छ । तस्करहरू मौलाउनुमा व्यापारीले समेत प्रोत्साहित गरेका हुन् ?
तपाइले भन्नु भएको कुरा सही हो । कुनै बेला व्यापारीसँग भएको सुनभन्दा बढी माग आएको हुन्छ । यस्तो बेलामा व्यापारीले ग्राहकको माग धान्नलाई वैध मार्गबाट नपाएपछि अवैध मार्गबाट लिने गर्छन्। वैध मार्गबाट नै सुन पाउने हो भने व्यापारीहरूले अवैध च्यानललाई रोज्दैनन् । यो किसिमको कार्य रोक्नका लागि सरकारले बजारको माग के हो ? कसरी समाधान गर्ने ? भनेर ध्यान दिनु पर्ने हुन्छ । तस्करहरूको कारण नेपाली सुन बजार प्रदूषण भइरहेको छ । यसलाई नियन्त्रण गर्नका लागि सरकारको नेतृत्वले निर्णय नगर्दा यसो भएको हो ।
यति बेला अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटिरहेको छ । सुनचाँदी व्यवसायीको के के माग सम्बोधन गर्नु पर्ने छ ?
हामीले अर्थ मन्त्रालयमा सुनचाँदी व्यवसायीको समस्या र सम्बोधन गर्नु पर्ने माग लगायतका कुराहरू लिखितरुपमा नै पठाइसकेका छौँ । हाम्रो पहिलो माग भनेको अहिले सुनमा कोटा प्रणाली छ त्यसलाई पुनर्विचार गर्नुपर्छ ।
नेपाली सुनचाँदी बजार पिडामा छ । नर्मल तरिकाले चल्न नै पाइरहेको छैन । व्यवसायीहरू तस्करसँग सुन किन्न बाध्य भइरहेका छन् । यसरी नै चल्ने हो भने भोलिका दिनमा सुनचाँदी बजार पुरै अपराधीहरूले चलाइरहेको जस्ता देखिन जान्छ । सरकारले नेपाली सुन बजारलाई तस्करीकै बजार बनाउन खोजेको हो त ? अपराधीकै हातमा जिम्मा लगाउन खोजेको हो त ?
यदि होइन भने आवश्यक व्यवस्था बनाउनु पर्छ । यसलाई स्वच्छ व्यवसाय बनाउनु पर्छ । हामीले दुई लाख जनालाई रोजगारी दिइरहेका छौँ । एक सय अर्बको वार्षिक सुनको कारोबार छ । हामीले वार्षिक ११ अर्ब रुपैयाँ राजस्व तिरिरहेका छौँ । भोलिका दिनमा २५ अर्ब राजस्व तिर्न सक्ने वातावरण बनाउनु पर्छ । नीति निर्माण राम्रो बनाइदिए नेपालको अर्थतन्त्रलाई टेवा दिने खालको नेपाली सुन बजार बनाउँछौँ भनिरहेका छौँ । तर, हाम्रो कुरा कुनै पनि सम्बोधन भएको छैन ।
भनेपछि सुनको कारोबारमा नियन्त्रण गरियो, त्यो खुल्ला हुनुपर्छ भन्ने यहाँहरुको माग हो ?
हामीले नेपालीहरूले घर किन्न सक्छौँ, जग्गा किन्न सक्छौँ, गाडी, शेयर किन्न सक्छौँ । तर, विडम्बना सुन किन्न पाइँदैन । गहना किन्न पाइन्छ तर, सुन किन्न पाइँदैन । गहना भनेको सुन होइन । गहना भनेको धारण गर्न मिल्ने सामान हो, जसलाई हामी उपभोग गर्छौ । तर, सुन भनेको उपभोग गर्ने भन्दा पनि लगानी गर्ने सामान हो ।
नेपाल खुल्ला नभएर नियन्त्रित अर्थतन्त्र भएको छ । अहिलेको अवस्थामा मैले काँचो सुनमा लगानी गर्छु भनेर कुनै नेपालीले भन्यो भने त्यो पाइँदैन । सुनमा लगानी गर्न नपाउने हो भने नेपाललाई नियन्त्रित अर्थ व्यवस्था भएको देश भन्नु परेन त ? सरकारले विभिन्न क्षेत्रमा लगानीको कल्पना गरिराख्दा नेपालका घरघरमा रहेको सुनलाई राष्ट्रिय सम्पत्तिको रुपमा मान्ने या नमान्ने भन्ने प्रश्न पनि खडा भएको छ ।
नेपालीले आज भन्दा १० वर्ष अगाडी किनेको सुनको मूल्य अहिले दोब्बर भएको छ । यसले नेपालीको सम्पत्ति बढेको छ । यसलाई विलासीको सामान भनेर कसरी भन्ने ? विलासीको वस्तु भनेको त एक करोडको सामान किन्दा १० वर्षमा त्यसको मूल्य एक लाख पनि आएन भने पो त्यो विलासीको वस्तु भयो त । सुनलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्नु पर्छ ।
प्रतिक्रिया दिनुहोस