काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले आन्दोलन सुरु गरेका छन् । शुक्रबार आफ्ना समर्थकसहित प्लेकार्ड बोकेर उनले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
अर्थतन्त्र सुधार्नका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कार हुने पर्ने धारणा उनले आन्दोलनको क्रममा राखेका थिए । देशको अर्थतन्त्र बिग्रेको कुरा सबैलाई थाहा भएको बताउँदै उनले अगाडी थपे," पैसा नहुँदा अर्थतन्त्र बिग्रिएको हो र पैसा किन भएन भने पैसा आउने काम नै कसैले गरेन । आविष्कार अनुसन्धान गरेर त्यसलाई ब्यवाशायिकरण गर्दा मात्र पैसा बन्छ ।"
सरकारले यो कुरा थाहा पाएर पनि थाहा नपाए झैँ गरेको उनले आरोप लगाए । नेपालमा हाल सञ्चालित कल कारखाना सरकारले बनाएको नभएर अरू देशले सहयोग स्वरूप बनाइदिएको भए पनि सरकारले त्यसलाई चलाउन नसकेको उनले औँल्याए ।
अहिले नेपालको अर्थतन्त्र कसरी सुधार्ने भन्ने अनुसन्धान अत्यन्तै आवश्यक रहेको उनले बताए । नवप्रवर्धन त्यस मध्ये एउटा बिधि हुनसक्ने उनको बुझाइ रहेको छ । आफ्नो काम देखेर र मानिसहरूले सहयोग गरेको देखेर डाहा गर्नेहरूले आफूबारे विभिन्न भ्रम फैलाएको पनि उनले बताए ।
आफू पुरै आन्दोलनमा होमिएको बताउँदै उनले अगाडी थपे, "म त अब लागेपछि लागेको लाग्यै गर्ने हो । यहीँ खान्छु, यहीँ सुत्छु । सहयोग गर्न इच्छा हुनेहरू आउनु होला ।" आफू एक्लै भए पनि माग सम्बोधन नहुन्ज्यालसम्म आन्दोलनलाई जारी राख्ने उनले बताए । आफू जस्तै धेरैले दुख पाएको तर बाहिर नआएको उनले बताए ।
‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रिएका पुनले सरकारले कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने जस्ता माग राखेका छन् । युवाहरूको बलियो साथ पाएका पुनले आफ्नो माग पुरा नहुन्ज्यालसम्म माइतीघर मण्डलामा नै बस्ने र चौबिसै घण्टा धर्ना कायम राख्ने घोषणा गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल मार्फत आन्दोलनका नारा सार्वजनिक गरेका पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष सङ्घीय र प्रदेश सरकारले आवश्यक रकम छुटाउनुपर्ने लगायतका माग राखेर उनी आन्दोलनमा उत्रेका हुन ।
गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाए पछि आक्रोशित भएका महावीर आन्दोलनमा होमिएका हुन् ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको पुनको आरोप छ । नवप्रवर्तन अनुसन्धान र आविष्कार कोष खडा गर्नुपर्ने माग गरेका पुनले यसअघि प्रधानमन्त्रीसहितको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस