aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

सुविधा माग गर्न अदालत गएकी पूर्व सांसद गुलेफुन जेल चलान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ बैशाख २०८०
सुविधा माग गर्न अदालत गएकी पूर्व सांसद गुलेफुन जेल चलान

काठमाडौं । सरकारी सहीछाप किर्ते मुद्दामा २०७४ वैशाख ३१ गते तत्कालीन जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले दोषी ठहर गरेकी नेकपा (एमाले)की तत्कालीन सांसद गुलेफुन खातुन जेल चलान भएकी छन् । पहिलो प्रदेश सभामा एमालेबाट सांसद रहेकी खातुन आज मोरङ जिल्ला कारागार चलान भएकी हुन् । 

मोरङ जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन दिएकी थिइन् । तर, उच्च अदालतले जिल्लाकै फैसला सदर गरेको थियो ।

त्यसका विरुद्ध सर्वोच्च अदालतमा निस्सा मागेकोमा सार्वेच्चले पनि ०७९ जेठ २५ मा निस्सा नदिने आदेश दिएपछि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ को सुविधा माग गर्दै जिल्ला अदालतमा आफैं उपस्थित भएकोमा अदालतले आज उनलाई कैद भुक्तानको लागि जिल्ला कारागार चलान गरेको छ । 

उनलाई अदालतले एक वर्षको जेल सजाय तोकेको छ । जिल्ला अदालतले उनीसहित उनका पति शेख शिलबर मियाँ, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई एक वर्ष कैद र ५० रुपैयाँ जरिबानाको फैसला सुनाएको हो । 

मोरङको साविक कदमाह गाउँ विकास समिति वडा नम्बर २ मा मधुसुधनराज पाण्डेको तीन बिगाह १० कट्ठा जग्गामा खातुनका ससुरा शेख धाइका मियाँको मोही हक रहेकोमा खातुनले तीन बिगाह १० कट्ठा मोही जग्गा पाउन भन्दै २०७१ चैत ४ गते तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको सिफारिस ल्याएकी थिइन् ।

एउटै दर्ता नम्बरका दुईवटा सिफारिस लिएको फेला परेपछि सरकारी कागजात किर्ते गरेको पुष्टि भएको थियो । 

कामत र मण्डललाई कर्मचारी भएका कारण थप दुई वर्ष सजायको फैसला भएको थियो । 

प्रतिक्रिया दिनुहोस