काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते मध्याह्नको समयमा एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दिउँसोका समयमा पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको गुहार माग्न पनि नपाई हत्या भएको थियो । हत्याको संलग्न विनोद विक शनिवार साँझ झापाबाट पक्राउ परेका हुन् ।
चक्कुले शरीरका दर्जनौँ ठाउँमा छियाछिया हुने गरी घोचेर हत्या गरिएको पाशविक घटनाले छिमेकहरु अझै तर्सिन्छन् । घटनास्थलमा नीरालाई देख्ने छिमेकीहरु दृश्य सम्झँदा पनि आङ नै जिरिङ्ग हुने बताउँछन् । बागलुङ घर भएकी नीरा त्यहाँ झन्डै दशकदेखि भाडामा भाँडा पसल गर्दै आएकी थिईन् । पसल उनको कोठाभन्दा केही मिनेटको दूरीमा छ । त्यही कोठा भएको घरमा श्रीमान् योगेशको इलेक्ट्रिोनिक्स पसल छ र त्यस दिन योगेश पनि इलेक्ट्रिोनिक्स पसलमै थिए ।
दुवैजना आ–आफ्नै व्यवसायमा हाँसीखुसी नै थिए । तर, वैशाख ७ गते योगेशका लागि साढे सात बनेर आयो । एक छोरीकी आमा नीरालाई चक्कुले घोचेर हत्या गरिँदा उक्त घटनाबारे न छिमेकले सुइँको पाए, न श्रीमान् योगेशले ।
प्रहरीका अनुसार पसलमा उधारो तिर्न आएका व्यक्तिले खबर गरेपछि मात्रै घटनाबारे प्रहरीमा खबर पुगेको थियो । प्रहरी पुग्दा नीरा गम्भीर अवस्थामा थिईन् । महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक, रवीन्द्र रेग्मीको नेतृत्वमा त्यहाँका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीसहितको टोली र जिल्ला प्रहरी परिसरले बौद्धका प्रहरी नायब उपरीक्षक हरि बस्नेतको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ ।
हत्यामा संलग्न रहेको आरोपमा उनीहरुले झापाबाट एक जनालई पक्राउ गरेको हो । उनले निराको हत्या गरेर झापा गएर लुकेको प्रहरीको भनाई छ । उनको साथबाट रगत लागेको कपडा समेत बरामद भएको छ । उनको साथमा रहेको सुनका सिक्री चोरी गर्नका लागि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रंहरीले जनाएको छ ।
यसरी भएको थियो घटना
त्यस दिन नीरा पसलमा एक्लै थिइन् । भाँडा पसलको पछाडि अलि भित्र काउन्टर छ । प्रायः पसलमा ग्राहक नआएका बेला उनी त्यहि बस्थिन । यही बेला नै एकान्तको छेको पारेर उनीमाथि आक्रमण भएको थियो । पसलको अघिल्लो भागमा छिमेकीले देख्ने भएकाले भित्र गएका बेला पारेर नै आक्रमण भएको प्रहरीको अनुमान छ । काउन्टर पछाडि भएकाले वरपरसमेत घटनाबारे थाहा हुन सकेन । दर्दनाक हत्याको कसैले सुइँको समेत पाएनन् ।
प्रहरीका अनुसार त्यस समय एकजना चिनजानकै महिला भाँडा किनेको उधारो तिर्न भाँडा पसलमा एकी थिईन् । पसलमा नीरालाई देखिनन् । त्यसपछि उनका श्रीमानलाई फोन गरेर कोही छैन दोकानमा भनेर सोधिन् । श्रीमानले पछाडि काउन्टर छ, त्यतैतिर होलिन् भित्र गएर हेर्नु न भन्ने जवाफ दिए । भित्र काउन्टर नजिक गएर हेर्दा एउटा बोरा देखियो । अलि नजिक गएर हेर्दा रक्ताम्मे अवस्थामा नीरा ढलिरहेकी देखेपछि अत्तालिएर उनले नै प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार नीराको शरीरमा धारिलो हतियार (चक्कु)ले विभिन्न ठाउँमा घोचेको, ठाउँठाउँमा छियाछिया हुने गरी काटेको, हातमा कोपिएको पनि छ । उनले प्रतिकार गर्न खोजेकोसमेत देखिएको अनुसन्धानमा खटिएका प्रहरी बताउँछन् ।
यसअघिका चक्कु प्रहार भएका घटनामा सिधै घाँटीमा हान्ने, वा अन्य संवेदनशील अङ्गमा पुग्ने गरी धारिलो हतियार प्रहार भएका पाइएका थिए । तर, नीराको हत्या फरक प्रकृतिले गरिएको प्रहरी नै बताउँछन् । ठाउँठाउँमा चक्कु हानेर तड्पाएर हत्या गरिएको जस्तो देखिएको छ । रगत बढी आउने ठाउँ खोजेर चक्कु हानिएको छ ।
नीराले घटना हुने केही घण्टा अघि आफ्नो पसलमा लामखुट्टे धपाउने ब्याट आएको प्रचार गर्न बनाएको भिडियो हेर्दा पारिवारिक समस्या भए जस्तो नदेखिने अनुसन्धान अधिकृतहरु बताउँछन् । आफ्नै व्यवसायमा तल्लीन नीरालाई केही घण्टामै आफ्नो जीवन समाप्त हुँदैछ भन्ने के थाहा । त्यस दिन ठीक ११ः२१ बजेको समयमा नीराले फेसबुकमा ‘लामखुट्टे तथा किरा धपाउने ब्याट चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला’ शीर्षक राखेर टिकटकको भिडियो राखेकि छिन् ।
भिडियोमा भनिएको छ, “के तपाइँहरु लामखुट्टेको टोकाइबाट ग्रसित हुनुभएको छ ? अब नआत्तिनोस्, हामीहरुले ल्याएका छौँ लामखुट्टे मार्ने इलेक्ट्रिक ब्याट, यो सरल र सहज तरिकाबाट प्रयोग गर्न सकिन्छ, एकदम सस्तो मूल्यमा पनि पाइन्छ, यसबाट बच्नका लागि हजुरहरुले छिट्टै अर्डर दिनुहोस् र लामखुट्टेबाट बच्नुहोस् र डेङ्गु रोग लाग्नबाट बच्नुहोस्, धन्यवाद ।
विडम्बना, उनको रोगबाट बच्न दिएको सार्वजनिक सन्देश नै अन्तिम हुन पुगेको छ ।
प्रतिक्रिया दिनुहोस