aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

घरबेटीले बढी महसुल लिन्छन् ? यसो गर्नुहोस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० भदौ २०७६
घरबेटीले बढी महसुल लिन्छन् ? यसो गर्नुहोस्

काठमाडौं । घर बहालमा बस्नेसँग घरबेटीले विद्युत्को महसुल बढी लिने गरेको गुनासो बढ्न थालेपछि नेपाल विद्युत् प्राधिकरणले त्यस्ता घरबेटीविरुद्ध कारबाही अघि बढाउन सकिने बताएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार आयोजित पत्रकार सम्मेलनमा त्यस्ता लिखित गुनासा प्राप्त भए कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन्।

'कसैले पनि प्राधिकरणको बिजुली लिएर व्यापार गर्न पाउँदैन', उनले भने, 'घरबेटीलाई बढी पैसा चाहिने हो भने भाडा बढाउन्, तर बिजुलीको भाउ बढाएर बेच्न पाइँदैन।' पछिल्लो समय सहरीकरणको विस्तारसँगै घर बहालमा बस्ने जनसंख्या बढ्दै गएको छ। यस्तो अवस्थामा घरबेटीले विद्युत्को महशुलको नाममा बढी पैसा लिने गरेको गुनासो आउन थालेको छ। घरबहालमा बस्नेसँग घरबेटीले १२ देखि २० रुपैयाँसम्म प्रतियुनिट विद्युत् महशुल लिने गरेको गुनासो प्राप्त भइरहेको प्राधिकरणको भनाई छ। प्राधिकरणको महसुल दरअनुसार गार्हस्थ ग्राहकले विद्युत् खपतअनुसार बढीमा प्रतियुनिट १३ रुपैयाँसम्म तिर्नुपर्ने व्यवस्था छ।

यसअनुसार एउटा मिटरमा मासिक २० युनिट विद्युत् खपत भएमा प्रतियुनिट औसत लागत साढे ४ रुपैयाँमात्र पर्छ। महिनामा ३० युनिट विद्युत् खपत गर्ने घरमा प्रतियुनिट लागत ७ रुपैयाँ ६६ पैसा र मासिक ५० युनिट खपत हने घरमा प्रतियुनिट ८ रुपैयाँका दरले विद्युत् महसुल लाग्छ। महिनामा १५० युनिट विद्युत् खपत गर्नेले प्राधिकरणलाई प्रतियुनिट औसत ९ रुपैयाँ ३३ पैसामात्रै तिर्नुपर्छ। कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा घिसिङले प्राधिकरणमा पत्रकार सम्मेलन आयोजना गरेका हुन्।

उनले तीन वर्षअघि आफू प्राधिकरणको नेतृत्व सम्हाल्न आउँदा वार्षिक ८ अर्ब ८९ करोड रुपैयाँ खुद घाटामा रहेको अवस्थाबाट ७ अर्ब २० करोड रुपैयाँ खुद नाफामा ल्याउन सफल भएको बताए। उनले तीन वर्षकै बीचमा प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत १५० युनिटबाट बढाएर २४५ युनिट पुर्याएको जानकारी दिए। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस