'चिया पिउँन साहुजी' कुनै चिया पसलमा छिरेपछि ग्राहकले अर्डर गर्दै भन्ने वाक्य हो, यो । त्यसपछि उताबाट आउने प्रश्न हुन्छ, 'कस्तो चिया ? कालो कि दूधको ?' कसै कसैले आजकल थप सोध्ने गर्छन्, 'चिनी कति ?'
तर, काठमाडौंको बानेश्वरस्थित छक्कु बक्कु गल्लीमा रहेको के एण्ड के कलेजको ठिक अगाडी रहेको ‘चिया सागर’ मा माथि उल्लेखित संवाद सुनिँदैन । न त्यहाँ कालो वा दूध हालेको बाहेक प्रचलित अर्को 'लेमन टी' मात्रै छान्ने विकल्प छ ।
'नामै काफी छ' भने जस्तै पसलको नाम नै चिया सागर । त्यसैले यहाँ पाइने चियाका प्रकार नै कति हो कति । स्वाद थरि, थरिका ।
चिया, कफी र गफ
चिया सागरमा सधैंजसो भिडभाड हुने गर्छ । त्यसको खास कारण हो, यो अन्य ठाउँको चिया पसलभन्दा नितान्तै फरक हुनु । जहाँ छिर्ने बित्तिकै देखिन्छ चिया, कफी र गफ । त्यसैले चियाको चुस्का लिँदै साथीभाइसँग घण्टौँसम्म गफिएर बस्ने हो भने यो भन्दा उपयुक्त स्थान शायदै अर्को हुन सक्ला । त्यसै पनि चियाका पारखीहरूको लागि चिया, साथी र गफ छुट्टै आनन्दको क्षण हुने गर्छ ।
यसका सञ्चालकहरूको लामो अध्ययन अनुसन्धानपछि जन्मिएको हो, चिया सागर । चिया सागर खोल्नु भन्दा पहिलेदेखि नै पर्यटन व्यवसायमा आबद्ध थिए, केशव शर्मा । होटल, होस्टेल, खाद्यान्न लगायत क्षेत्रको व्यवसायीकोरुपमा परिचय बनाएका शर्माको परिचयमा अब थपिएको छ, चिया पसले । तर, उनी सामान्य चिया पसले मात्र होइनन् किनकि उनले चियालाई एक व्यापक सम्भावनायुक्त व्यवसायको रुपमा स्थापित गराएका छन् ।
चिया सागरमा शर्मासँगै अन्य दुई प्रकाश पौडेल र नवीन शर्माको पनि लगानी रहेको छ । उनीहरू तीनै जनाको पुर्ख्यौली घर बागलुङ हो । केशव २०६१ सालदेखि होटल तथा पर्यटन व्यवसायमा संलग्न छन् । त्यसअघि उनी राजनीतिमा थिए । गाविस अध्यक्ष समेत भएर जनताको सेवा गरे । अहिले भने उनी आफूलाई व्यवसायी र समाजसेवी भनेर चिनाउँछन् ।
अर्का सञ्चालक प्रकाश यसअघि शिक्षण पेसामा सक्रिय थिए । उनले केही समय कन्सल्टेन्सी पनि चलाए। पछि उनी व्यवसाय तिरै होमिए । सिभिल इन्जिनियरिङ गरेका नवीनले भने झन्डै ६ वर्ष जागिर गरे र पछि व्यवसायमा लागेका हुन् । एक अर्का प्रतिको विश्वासको कारण नै बिना कुनै बाधा/व्यवधान साझेदारीमा व्यापार सम्भव भएको केशव शर्माको भनाई छ ।
धित नमर्दा फुरेको सोच
चिया सागर खोल्नु अघि यी तीन लगानीकर्ताहरूले धेरै ठाउँमा गएर चिया पिए । तर, उनीहरूलाई कहीँको चियाले धित मारेन । धेरै ठाउँमा चिया पिउँदा कहिल्यै सन्तुष्ट भएनन् । उनीहरूलाई लाग्यो कि चिया पारखीहरूको मन जित्न मात्र सक्ने हो भने पनि गज्जबको व्यवसाय चल्छ ।
उनले सोचे, ग्राहकको रुचि र आवश्यकता पक्कै पनि तीन/चार प्रकारका चियाले मात्र पुरा गर्न सक्दैन । त्यसपछिको लामो समयसम्म बजार अध्ययन गरेपछि खुलेको हो, चिया सागर। त्यसैले यसले हरेक प्रकारका चिया पारखीको चित्त बुझाउन सकेको छ ।
त्यसो त 'चिया सागर' नाम जुराउन नै समेत उनीहरूलाई करिब एक महिना जति लाग्यो। तर, अहिले नाम जस्तै चियाको सागर नै बनेको छ उनीहरूको पसल ।
शान्त वातावरण
‘हामी नेपालीहरूमा संस्कृतिको रुपमा विकास भैसकेको आदत र शैली 'चिया पिऊँ' को संस्कारलाई थप परिमार्जन गरेर आधुनिक शैलीमा चिया पस्किने थलो हो, चिया सागर । यहाँ एक प्रकारको शान्त, रमाइलो वातावरणसहित चिया पारखीहरूलाई चिया खुवाउने हाम्रो उद्देश्य हो', चिया सागरका सञ्चालक केशव शर्मा भन्छन् ।
उनी आफुहरुले तयार गरेको वातावरणलाई विशेष जोड दिन्छन् । त्यसमा आफुहरु अलिक बढी नै सचेत रहेको बताउँदै उनले भने, ‘चिया सागरको वातावरणमा पनि हामीले विशेष ध्यान दिएका छौँ । यहाँ आनन्द र स्वच्छ वातावरण छ । पर्याप्त ठाउँ होस् भनेर तीन हजार वर्ग फिटभन्दा बढी क्षेत्रफलमा बनाएका छौँ ।’
कोरोना महामारीले अर्थतन्त्र थलिएको समयमा नै उनीहरूले चिया सागरमा लगानी गरे । चिया सागर खोल्न लाग्दा धेरैले उनीहरूलाई अहिले लगानी गर्ने बेला होइन भनेका थिए । तर, उनीहरूले व्यवसायमा जोखिम हुन्छ एक पटक जोखिम लिएरै भए पनि सुरु गर्रौँ भनेर सुरु गरेको उनी बताउँछन् ।
शर्मा भन्छन्, ‘यहाँ हामीले लगानी गर्ने बेलामा धेरैले हामीलाई यो लगानी गर्ने बेला होइन भनेका थिए। धेरैका सल्लाह सुझाव लिएर नै हामीले जोखिम भए पनि लगानी गर्छौ भनेर यो सुरु गरेका हौँ । अहिले धेरैले राम्रो प्रतिक्रिया दिएका छन् ।’
यहाँ माटोको कपमा चिया खाएपछि ग्राहकले कपमा आफ्नो नाम वा सन्देश लेखेर चिया सागरमै सजावटका लागि राखिदिन मिल्छ । जसका लागि छुट्टै ठाउँ बनाइएको छ । माटोका कप भक्तपुरबाट ल्याउने गरिएको छ ।
नाङ्लो र डोकोको अनौठो सजावट
यहाँको सजावटमा आधुनिकसँगै नेपाली मौलिक वस्तुले पनि स्थान पाएका छन् । चिया सागरमा जान केही सिढि चढिसकेपछि डालो उल्टो झुन्ड्याएर बत्ती बालेको देखिन्छ । भित्र सिलिङ र भित्ताहरूमा नाङ्लो टाँसिएको देख्न सकिन्छ । दुई सयभन्दा धेरै नाङ्लो र डोकोले चिया सागरलाई बेग्लै रूप दिएका छन् । विशेषगरि साँझको समयमा चिया सागरको दृश्य एकदमै आकर्षक देखिन्छ । यी सबै व्यवस्थापन गर्न यी तीन लगानीकर्ताहरूले करिब ६५ लाख रुपैयाँ खर्चिएका छन् ।
हरेक प्रकारको चिया पत्ति र कच्चा मसलाका लागि आधिकारिक आपूर्तिकर्तासँग सहकार्य गरिएको छ । चियाको विशेष मसला भने आफैँ तयार पार्छन्, उनीहरू । सुरुवातमा करिब ८ महिना जति आफूहरूले चियाको मसलाबारे अध्ययन गरेको उनले जानकारी दिए । 'आफैले बनाएको गुणस्तरीय मसला प्रयोग हुने भएकोले यहाँको चियाले ग्राहकको स्वास्थ्यलाई हानी गर्दैन' शर्माको दाबी छ । यहाँ एक पटक चिया पकाइसकेपछि त्यो भाडा सफा गरेर मात्रै अर्को पटक चिया पकाउने गरिएको उनले बताए ।
ठुलाबडाको जक्सन
चोक, गल्लीभित्रको सानो सटरमा धेरै चिया पसल भेटिन्छन् । तर, चिया सागरलाई हेर्न हो भने यो भव्य छ । करिब दुई सय जनासम्म अटाउन सक्ने क्षमता भएको चिया सागरमा ५५ प्रकारका चिया पाइन्छ ।
विशेषगरि चिया सागरको मेनुमा मट्का, मसला, आइस टि, घरको चिया, हर्बल टी, ग्रिन टी, फ्रुट टी उपलब्ध छन् । निकै चर्चित चाहिँ मसाला चिया छ । 'ए वान ग्रेड'को मसाला मिसाएर आफ्नै रेसिपी तयार पारिएको छ । चियाका पारखीहरूलाई फरक–फरक स्वाद चखाउने उद्देश्यले खोलिएको चिया सागरमा ५० देखि तीन सय रूपैयाँ कप सम्मका चिया उपलब्ध छन् । चिया, कफी बाहेक यहाँ बेकरी आइटम पनि उपलब्ध छन् ।
चिया सागर बिहान साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म खुला हुन्छ । यहाँ प्रत्यक्ष रुपमा ८ जनाले रोजगारी पाएका छन् । जहाँ सयौँ संख्यामा ग्राहकको घुइँचो देख्दै लोभलाग्दो छ ।
यहाँ धेरैजसो युवा पुस्ताका ग्राहकहरू चिया पिउन आउने गरेका छन् । चिया पारखीका लागि मात्र होइन कलेजका विद्यार्थीदेखि सांसद, मन्त्री, कलाकारसम्मको जमघटको थलो बनेको छ, चिया सागर । साथीभाइसँग बसेर छलफल गर्न चिया सागरले विकल्प दिएको छ । यहाँ नेता, कार्यकर्ता, ठेकेदार, विद्यार्थी, सञ्चारकर्मी सबै पेसा र व्यवसायका मानिसहरू भेटिन्छन् ।
यहाँ आएका ग्राहकहरूबाट राम्रो प्रतिक्रिया पाएका कारण नै चिया सागरले थप नयाँ आउटलेट खोल्ने तयारी गरेको छ । काठमाडौँको वसुन्धरामा अर्को शाखा तयारी अन्तिम अवस्थामा पुगेको शर्माले जानकारी दिए । त्यहाँ वरिपरि पनि कलेजदेखि अस्पतालहरू रहेका छन् । वसुन्धराको आउटलेट खोल्न करिब ७० लाख रुपैयाँ लगानी गरेका छन्, उनीहरूले । त्यो यसै महिनाको अन्त्यसम्ममा सञ्चालनमा ल्याउने उनीहरूको तयारी रहेको छ ।
चिसो चिया
चिया भन्ने बित्तिकै तातो पेय पदार्थ भन्ने बुझिन्छ । तर, यहाँ चिसो चिया पनि पाइन्छ । चियालाई चिसो पार्ने सोच अलिक अनौठो होइन र ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘चिया पनि विभिन्न प्रकारमा बेच्न सकिन्छ । चिया तातो मात्रै होइन, चिसो पनि पिउन सकिन्छ भन्ने आम मानिसहरूमा बुझाउनु पर्ने आवश्यकता हामीले देख्यौँ । हामीले सात वटा चिसो चियाको आइटम उपलब्ध गराउँदै आएका छौँ ।’
धेरै युवापुस्ताहरू बिदेसिने क्रम बढ्दो रहेको छ । विदेशिने धेरैले भन्ने गरेको साझा भनाई हो, 'यहाँ सम्भावना नै छैन' । तर, यी तीन भाइले चियाकै पनि ठूलो व्यापार गर्न सकिने रहेछ भन्ने बलियो उदाहरण देखाएका छन् । ‘जुनसुकै ठाउँमा पनि सम्भावना छ । व्यवसाय गर्न चाहानेरले जोखिम मोल्न सक्नु पर्छ । यति भएमा विदेश नै जानु पर्छ भन्ने छैन । नेपालमा नै केही गर्न सकिन्छ’, शर्माले भने ।
तस्बिरः श्यामसुन्दर गौरो
प्रतिक्रिया दिनुहोस