
हिजोआज बिद्यालयमा नैतिक शिक्षाको पढाई हुँदैन । दुई दशक अघिसम्म कम्तीमा पनि हप्तामा तीन दिन पठाई हुन्थ्यो। यो बढो गज्जबको विषय थियो। "एउटा जिम्मेवार नागरिक हुन कानुनी कर्तव्य मात्रै पालना गरेर हुँदैन, सामाजिक र नैतिक नियमको पनि पालना गर्नुपर्छ" भनेर सिकाइन्थ्यो।
उदाहरणको लागि कसैले आफ्ना बाउआमालाई माया गर्दैन, तँ तँ, म म गर्छ, हेलाँ गर्छ भने पनि कानुनले उसलाई कारबाही गर्दैन तर ऊ एक असल नागरिक/ एक असल मानवसम्म बन्न सक्दैन। नैतिक नियममा ऊ अपराधी ठहर्छ ।
अहिले एउटा आत्महत्या काण्ड चर्चामा छ। एक चौतीस वर्षीय युवती (पेसाले नर्स) ले आफ्ना डाक्टर प्रेमीको घरमा झुन्डिएर आत्महत्या गरिन्। मृतक युवतीका परिवारले जाहेरी दिएपछि उक्त प्रेमीलाई पक्राउ गरेर "आत्महत्या दुरुत्साहन" मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ भने युवकका पिता फरार छन्।
मृतकको डायरी र सुसाइड नोट लगायतका प्रमाणको आधारमा यदि आरोप पुष्टि भएमा पिडकहरूलाई केही वर्ष जेल सजाय हुनसक्छ। यो "आत्महत्या दुरुत्साहन" भन्ने कानुन नेपालमा हालैका वर्षहरूमा (मुलुकी ऐन २०७४) पछाडि प्रयोगमा आएको हो। त्यस अगाडि यस्ता अपराधमा पिडकहरू "नैतिक" रूपमा मात्रै गिर्थे, कानुनले केही गर्दैनथ्यो।
गत मङ्सिरमा पनि एउटा यस्तै घटना घटेको थियो। पुष्पा न्यौपाने नामकी एक युवतीले आफ्नो बिहेको इन्गेजमेन्ट गरेर अचानक तोडेका युवक (सुधन सङ्ग्रौला)को धुम्बाराही स्थित घरमा पुगेर कुराकानी गर्न चाहिन्। सङ्ग्रौला परिवारका सदस्यहरूले उनको कुरा सुन्न त के ढोका खोल्न समेत मानेनछन्। घण्टौँ धर्ना दिँदा पनि ढोका नखुलेपछि उनले आफ्नो शरीरमा आफै पेट्रोल छर्केर आत्मदाह गरिन्।
जब सामाजिक सञ्जालमा यस्ता समाचार आउँछन्, तिनमा धेरै "हाहा" गर्ने, मजाक गर्ने, कमेन्टमा नाना भाँती लेख्ने "अनैतिक" झुन्डहरू पनि प्रशस्तै देखिन्छन्। यसपालि पनि अघिपछि नैतिकताको वकालत गर्ने केही विद्धान साथीहरू नै "डाक्टरसँग बिहे गर्न नपाएर मर्ने..." लगायतका निकृष्ट शब्द प्रयोग गरेका कमेन्ट देखियो। अब एकपल्ट अहिलेको घटनाको पृष्ठभूमि हेरौँ।
नेपालको समाज प्रेम, यौन लगायतका सम्बन्धका सवालमा खुल्दै गएको छ। युवायुवतीहरू आफ्नो करियर बनाउनको लागि ढिला बिहे गर्ने, यसबिचमा प्रेम सम्बन्धमा बस्ने, एक अर्कालाई सपोर्ट गर्ने; आफ्ना आफन्त, साथीभाइ सबैलाई आफ्ना प्रेमी/प्रेमिकाको परिचय गराउने, दिनरात सँगै देखिने जस्ता घटना सामान्य नै भएका छन् ।
नेपालका सहरहरूले यस्ता घटनालाई सजिलै पचाउँछ, हिजोआज। यो जोडीको सवालमा पनि यस्तै भएको देखिन्छ। लामो समयसम्म प्रेम सम्बन्धमा रहेको, शारीरिक सम्बन्ध भएको, युवती युवकको घरमा आएर परिवारकै अगाडि युवकसँग कैयौँ रात बिताएको, पटक पटक गर्भपतन गराएको पनि उनले लेखेकी रहिछन्। एकपल्ट सोचौँ त श्रीमान्/ श्रीमती भनेको के हो? यो जोडीमा युवतीको सिउँदोमा सिन्दूर र दुई जनाको नाम भएको एउटा बिहे दर्ताको कागज बाहेक के बाँकी थियो र श्रीमान्/श्रीमती बन्नको लागि?
त्यही सिन्दूर र त्यही कागजको माग गरेकी रहिछन्, युवतीले पटक पटक। युवकले पनि उनलाई विभिन्न बहानामा झुलाउँदै भाका सार्दै आएका रहेछन्। यदि त्यही सिन्दूर र त्यही कागजको खोस्टो हुँदो हो त गर्भपतन गरेर मारिएका बच्चाहरू अहिले स्कूल जाने उमेरका हुने रहेछन्। युवतीले एउटा सामान्य मान्छेबाट "आफ्नो मान्छे" भन्दै सपोर्ट गर्दै, आफ्नो तन् मन सुम्पेर आफ्नो जीवनको ३४ वर्षको उमेरसम्म आइपुग्दा युवक एक नामुद डाक्टर बनेका रहेछन्।
नेपालमा एक युवतीलाई ३४ वर्षको उमेरसम्म अविवाहित रहँदा उनले परिवार र समाजमा के कस्ता समस्या खेप्नुपर्छ त्यो हामी सबैले कल्पना गर्न सक्छौँ। तिनै युवतीका सहपाठीले आफ्नो सन्तानको कन्यादान गर्ने उमेर हुँदासम्म उनलाई उनले विश्वास र प्रेम गरेका युवकले प्रयोग गरिरहे, झुलाइरहे। अनि अहिले आएर एकाएक बिहे गर्न अस्वीकार गरे। अनि उनले आफूलाई निरीह सोचिन्।
फेरि कुरा कानुनको। युवतीले कुनै निकायमा गएर "यसले मेरो पूरा जवानी नष्ट गर्यो, बिहे गर्छु भनिरह्यो, मैले उसलाई सधैँ साथ दिएँ, अब म बुढी हुँदै गएपछि यसले मलाई उखुको छोक्रा जसरी फ्याँक्यो, म बर्बाद भएँ", मेरो यसैसँग बिहे गराई पाउँ" भनेर कहीँ उजुरबाजुर गर्ने कुरा पनि भएन। घर परिवारले पनि उनलाई बारम्बार सम्झाएको हुन्छ, अब परिवारले पनि साथ दिने सम्भावना कमै हुन्छ। समाजमा आफ्ना पीडा राखे पनि पुरुष प्रधान समाजले पहिल्यै बनाएको नियम ओकल्छ "चमत्कार र बलात्कार" वाला।
आफ्नो सिङ्गो जवानी सुम्पेर जिरोदेखि हिरो बनाएको व्यक्तिले नै लत्त्याएपछि अब आफ्नो जिन्दगी "रिस्टार्ट" गर्ने बाटो नदेखेपछि, युवतीले सोचेर, सम्झेर आफ्नो जिन्दगीलाई उसैको घरमा लगेर "फूल स्टप" लगाउने निर्णय गरिन् । हो, आफूले नचाहे कसैसँग जबरजस्ती बिहे गर्दिनुपर्छ भन्ने हुँदैन। तर, बिहे नगर्ने भए यत्तिका वर्ष झुलाएर राख्न पनि हुँदैनथ्यो।
पुरुषको लागि ३४/३५ वर्ष भनेको केही होइन। नामको अगाडि डा. भएका ती पुरुषले अब जेलबाट निस्केर चालीस काटेपछि पनि जस्तो भन्यो त्यस्तै केटी पाउँछन्। तर, ३४ वर्षको उमेरपछि फेरि शून्यबाट जिन्दगी सुरु गर्न ती युवतीलाई त्यति सहज थिएन होला। खास गरी यही परिवार र समाजमा उनले आजसम्म धेरैपल्ट धेरैलाई चुनौती दिएर आएको अवस्थामा।
यसको अर्थ मृत्यु नै अन्तिम विकल्प थियो भन्ने भने होइन । उनले आफ्नो जिन्दगी नयाँ शिराबाट सुरु गरेर उसलाई, यही समाजलाई केही गरेर देखाउन पर्थ्यो। मैले यहाँ त्यही कुरा लेखेको हुँ जो उनले अन्तिम अवस्थामा शायद सोच्न सकिनन् । यहाँ भन्न चाहेको यति मात्र हो, 'दुनियाँको जुन शिक्षा या ज्ञान लिए पनि त्यो व्यर्थ हुनेछ जब हामीले नैतिक ज्ञान लिन सक्दैनौँ भने।'
प्रतिक्रिया दिनुहोस