
काठमाडौं । वर्तमान सरकारमा जाने र समर्थन फिर्ता लिएर प्रतिपक्षी दल बन्ने स्पष्ट दुईधारमा विभाजित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । पार्टीको बैठक केन्द्रीय कार्यालय बसुन्धारामा सुरु भएको हो ।
रास्वपाका धेरैजसो पदाधिकारी तथा सदस्यहरु सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसी जनताको बीचमा जानुपर्ने पक्षमा रहेका छन् । यसअघि रास्वपकाको बैठक सोमबार दुईपटक बसेको थियो ।
सोमबारको बैठकमा आवश्यक निर्णय लिनका लागि ठोस गृहकार्य नपुगेको भन्दै शुक्रबार (आज) फेरि बैठक बसेर निर्णय गर्ने सहमति गरेको थियो । सोमबारको बैठक गर्नुभन्दा अगाडि पार्टी सभापति रवि लामिछानेले नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए ।
सभापति लामिछानेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवासँगको भेटमा लामिछानेले आफूहरुले नेतृत्व गरेका पूर्ववत मन्त्रालय पाउनुपर्ने, आफ्नो पार्टीका नेताहरुले नेतृत्व गरेका मन्त्रालयमा हस्तक्षेप गर्न नपाउने तथा सरकारको नीति तथा कार्यक्रम पुनरलेखन गर्नुपर्ने सर्त राखेका थिए ।
भेटघाट र बैठकपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लामिछानेलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको समाचार पनि बाहिरिएको थियो । यही चर्चाको पृष्ठभूमिमा रहेर आवश्यक निश्कर्ष निकाल्ने गरी आजको बैठक बसिरहेको छ । प्रधानमन्त्री प्रचण्डले रास्वपालाई फेरि सरकारमा सामेल हुन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस