काठमाडौं । मुगुमा यार्सागुम्बा टिप्न गएका तीनजनाको मृत्यु भएको छ । त्यहाँको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोरा रहेका छन् । यार्सा सङ्कलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीनजनाको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाको भनाइ रहेको छ ।
दुईजना सकुशल रहेको खबर प्राप्त भएको र अन्य सामान्य घाइते भएको उपाध्यक्ष रोकायाले बताइन् । हाल प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।
शनिबार दिउँसो खबर आएसँगै इलाका प्रहरी चौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले के–कसरी घटना भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिकाले अगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिए पनि त्यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन् । ती तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस