aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एउटै गाउँमा तरकारी खेतीबाट दुई करोड बढी आम्दानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ बैशाख २०८०
एउटै गाउँमा तरकारी खेतीबाट दुई करोड बढी आम्दानी

पर्वत । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित सल्यान फाँट यतिखेर विभिन्न थरिका तरकारी खेतीले भरिभराउ  छन् । बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध भएको समथर फाँटमा  काउली, बन्दागोभी, काक्रो, गाँजर, बोडी, सिमी, गोलभेँडालगायतका तरकारी लटरम्म फलेका छन् ।
 
तरकारी खेतीका लागि धाइरिङ पर्वतमै नमूना गाउँ हो । तरकारी पकेट क्षेत्रका रूपमा परिचित यस गाउँका अधिकांश कृषकले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट यो गाउँमा बर्सेनि करिब रु डेढदेखि रु दुई करोडभन्दा बढी गाउँमा भित्रिने अगुवा कृषक एकनारायण पौडेलले बताए ।

उनले भने, “तरकारी खेती यहाँका कृषकको जीवन नै बनिसकेको छ । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि विदेश गएका युवा पनि गाउँ फर्किएर खेती गर्न थालेका छन् ।” उनका अनुसार यहाँका कृषकले वार्षिकरूपमा कम्तीमा रु दुई लाखदेखि रु १० लाखसम्म तरकारी खेतीबाट आम्दानी गर्दै आएका छन् । गाउँका एक सय घरपरिवार व्यावसायिक तरकारी खेतीमा आबद्ध छन् । ताजा तरकारी र बीउबिजन बिक्रीबाट प्राप्त भएको आम्दानीले यहाँका कृषकले सहरबजारमा घरघडेरीसमेत जोडेका छन् ।

विगत २७ वर्षदेखि निरन्तररूपमा ताजा तरकारी र बीउ उत्पादन गर्दै आएका गाउँका अगुवा कृषक पौडेलले भने, “तरकारी खेतीले विदेश पुगेका युवाहरूलाई पनि गाउँ फर्काएको छ । तरकारी खेतीले गाउँनै समृद्धि बनेको छ ।” उत्पादन भएको ताजा तरकारी म्याग्दीको सदरमुकाम बेनी, बागलुङ र पर्वतको सदरमुकाम कुस्मासम्म पुग्ने उनले बताए ।

परिश्रम गर्नसके तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने कृषक बलराम आचार्यले बताए । “उत्पादन भएको तरकारी बिक्रीका लागि कुनै समस्या छैन”, उनले भने, ‘गाउँमै सडक आएको छ । पहिलाजस्तो डोकामा बोकेर लैजान पर्दैन । उत्पादन गर्नसके घरमै बसीबसी फोनका आधारमा तरकारी बिक्री गर्न सकिन्छ । बेमौसमी तरकारी उत्पादन गर्नसके बेनीका व्यापारी फाँटमै गाडी लिएर आउँछन् ।’

तरकारी खेतीको आम्दानीले यहाँका कृषकको जीवनशैलीमा सकरात्मक परिवर्तन ल्याइदिएको युवा कृषक अर्जुन पौडेलले बताए । “आफ्नै माटोमा परिश्रम गर्दा गौरवको अनुभूति हुन्छ”, कृषक पौडेलले भने, “परिश्रम गर्नसके तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।” सल्यानका साथै बास्कोट, धरापानी र घायखेत तरकारी खेतीका लागि परिचित गाउँ हुन् ।

स्थानीय सरकारले कृषकलाई थप व्यावसायिक बनाई उत्पादन बढाउन तालिम र प्रविधिमा सहयोग गर्दै अँएको छ । तरकारी पकेट क्षेत्रका रूपमा विकास गरिएको सल्यानमा कृषि ज्ञान केन्द्र पर्वतले मल, बीउ र प्रविधिमा सहयोग गर्दै आएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताए । 

प्रतिक्रिया दिनुहोस