काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले देशको अर्थतन्त्र अत्यन्त कमजोर अवस्थामा पुगेकाले सरकारलाई सत्य स्वीकार्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आशाका पुलिन्दा बाँडेर जनतााई अल्मल्याउनुको साटो सत्य स्वीकार गरेर अघि बढ्न सरकारलाई सुझाएका हुन् ।
विगत तीन दशक यताकै सर्वाधिक कमजोर अवस्थामा अर्थतन्त्र पुगेको र पाँच दशककै कम दरमा राजस्व संकलन भएकोले परिस्थतिको गाम्भिर्यतालाई बुझन लामिछानेले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई सुझाव दिए । उनले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले संसद्मा प्रस्तुत गरेका विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका बारेमा टिप्पणी गर्दै यस्तो धारणा राखेका हुन् ।
मुलुकको अर्थतन्त्र बाह्य कारणले वा विश्व अर्थतन्त्रमा आएको मन्दीको कारणले भन्दा पनि हाम्रै कारणले तल झरेको उनको भनाई थियो । यसमा कर्मचारीतन्त्र समेत दोषी रहेको जनाउँदै उनले भने, ‘हाम्रा कर्मचारीतन्त्र पनि असक्षम छन् । भ्रष्टाचारमा लिप्त छन् । इ–गर्भनेन्स लागु गर्नुपर्ने देखिन्छ ।’ मुलुक संकटमा पर्नुको मूख्य कारण भ्रष्टाचार र तस्करी भएको बताउँदै उनले अहिले चर्चामा रहेको नक्कली शरणार्थी केशका भ्रष्टाचारीहरुलाई कडा कारवाही गर्न समेत आग्रह गरे ।
“विगत केही वर्षका यिनै दस्तावेज लिएर केही वाक्य र शब्दको हेरफेर गरी कर्मकाण्डी रुपमा बजेटका सिद्धान्त र प्राथमिकता आएको हामीले ठानेका छौँ । अहिले अर्थतन्त्र असाधारण अवस्थामा छ । असाधारण अवस्थामा पुगेको अर्थतन्त्रलाई जोगाउन र आम जनतालाई राहत दिन सधैँको जस्तो कर्मकाण्डी योजनाले कसरी सम्भव होला ?”, लामिछानेले भने ।
विनियोजन विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकता विगतका असफल आर्थिक नीतिको निरन्तरता मात्र नभइ यसले नेपाली समाजको आजको समस्याको समाधान नदिनेसमेत उनले संसद्मा दाबी गरे । “सधैँ एउटै कुरा गर्ने तर नतिजा फरक अपेक्षा गर्ने हाम्रो बानी हो कि, जनतालाई झुक्याउने खेल रु हामीले आशाका पुलिन्दा पस्किने होकी, समाधान उन्मुख व्यवहारिक नीति बनाउने हो ?”, संसद्मा प्रश्न गर्दै लामिछानेले भने।
विद्यमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौती बाह्य कारणले मात्र नभइ आन्तरिक कारणले बढी सिर्जना भएको पनि उनको भनाइ छ । “हाम्रो आफ्नै राजनीतिक बेथिति, विसङ्गति र सङ्गठित रुपमा राजनीतिले गरिरहेको भ्रष्टाचारको कारण अर्थतन्त्रमा समस्या देखिएको हो”, लामिछानेले भने, “योजनाहरु समयमा पूरा हुन नसक्नु र पूरा भएका आयोजनाले पनि आशातित प्रतिफल नदिनु, वित्तीय क्षेत्रको स्रोत अनुत्पादक क्षेत्रमा बढ्नु, गैरकानुनी व्यापार, तस्करी बढ्नु, सरकारी संयन्त्रको असक्षमता र बेइमानीको कारण हो । बाह्य कारण देखाएर हामी उम्कन मिल्दैन ।”
आगामी आर्थिक वर्षको बजेटमार्फत् कार्यान्वयनमा ल्याउनुपर्ने केही विषयबारे पनि लामिछानेले संसद्मार्फत् सरकारलाई सुझाव दिएका छन् ।
“असाधारण अवस्था छ, स्रोतको सीमितता छ । असाधारण रुपमा साधारणखर्च कटौती गरौँ”, उनले भने, “बजेटमा गर्छौँं भनेका कुरा गरेर छाड्ने हो । यदि भएनन् भने कसका कारण हुन सकेन भनेर खोजौंँ । मन्त्री, सचिव विभागीय प्रमुखलाई जिम्मेवार बनाऔँं ।”
सार्वजनिक सेवा प्रवाहमा प्रविधिको प्रयोग बढाउनुपर्ने, इ–गभर्नेन्सलाई राष्ट्रिय प्राथमिकताको योजनासहित कार्यान्वयन गरिनुपर्ने, विदेशी लगानी प्रोत्साहन गर्नुपर्ने र लगानीमैत्री वातावरण बनाउनका लागि आगामी तीन महिनाभित्र विभिन्न ऐन संशोधनका लागि संसद्मा दर्ता गरिसक्नुपर्ने सुझाव पनि उनको छ ।
आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे संसद्मा बोल्दै सांसद देवेन्द्र पौडेलले अहिलेको अर्थतन्त्र सुधार कुनै दल विशेष र सरकारको मात्र समस्याका रुपमा लिन नहुने बताए ।
“देशको आर्थिक अवस्थाको चित्रण हामी सबैको साझा अवस्था हो । यो अहिलेको गठबन्धनको मात्रै जिम्मेवारी होइन । नेपालको अर्थतन्त्रलाई कसरी सुधार्ने भनेर साझा रुपमा सोच्नुपर्ने अवस्था हो”, सांसद पौडेलले भने, “अर्थतन्त्रको अहिलेको अवस्था हेरेर एकले अर्कालाई आलोचना मात्रै गर्नेभन्दा समाधानका लागि सामूहिक प्रयासमार्फत् जानुपर्छ ।”
खस्किँदो आर्थतन्त्रलाई लयमा ल्याउन सबैले साझा सङ्कल्प लिएर अघि बढ्नुपर्ने उनको भनाइ छ । त्यस्तै, वित्तीय सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने र ठूला पूर्वाधार बनाउनुभन्दा जनताको जीवनस्तर सुधार्ने विषय प्राथमिकतामा पर्नुपर्ने पनि उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस