aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अण्डा उत्पादन बढ्दा उत्पादक दुःखी !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
अण्डा उत्पादन बढ्दा उत्पादक दुःखी !

काठमाडौं । करोडौंको लगानी र कठिन परिश्रमबाट प्राप्त हुने उत्पादन बढ्दा जो कोही पनि खुसी हुनु स्वाभाविक मानिन्छ। तर, कृषिप्रधान मुलुक भनेर चिनिएको नेपालमा कृषि उत्पादन वृद्धि हुँदा कृषक खुसी नहुने अवस्था देखिन थालेको छ । अण्डा उत्पादक कृषकहरू उत्पादन बढेर खुसी हुनुको साटो दुःखी बनेका हुन्।

कृषि क्षेत्रमा नेपालमा सम्भवतः पहिलो आत्मनिर्भर उपज हो अण्डा । स्वास्थ्यको दृष्टिकोणले समेत निकै महत्वपूर्ण मानिएको अण्डा उत्पादन बर्सेनि बढ्दो क्रममा छ। गत वर्षमात्र मुलुकभर १ अर्ब ५६ करोड गोटा उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलनामा उत्पादन वृद्धिदर ६.१२ प्रतिशत बढी हो । राष्ट्रिय योजना आयोगको आवधिक योजनामा पनि अण्डा उत्पादन वृद्धि गर्ने विषय प्राथमकितामा राखिदै आइएको छ।

उत्पादन वृद्धि हुँदा खुसी हुनुको साटो दुख: किन ? नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी भन्छन्, “अण्डा उत्पादन गरेर हामीलाई पाल्लान् भनेर पालिएका कुखुरालाई दाना खुवाउनै समस्या पर्ने अवस्था आयो, उत्पादन लागत नै नउठ्ने अवस्था आएकाले हामी खुसी हैन दुःखी छौं ।” उत्पादन लागत बर्सेनि बढिरहेको तर अण्डाको खपत बढाउन सरकारी नीति नहुँदा बजारीकरणमा समस्या देखिंदा उत्पादित अण्डाले बजार नपाएको उनको गुनासो छ।

संघले गरेको अध्ययनले हाल अण्डाको औषत उत्पादन लागत ११ रुपैयाँ २ पैसा छ । उत्पादनको बजारीकरणमा समस्या देखिएपछि संघले अण्डाले बजार नपाएपछि बजार व्यवस्थित गर्ने मनसायले हालैमात्र अण्डा (ठूलो) को मूल्य प्रतिगोटा ९ रुपैयाँ तोक्यो । उत्पादन लागतभन्दा कम मूल्य तोक्दा पनि अण्डाले बजार नपाएको गुनासो उत्पादकहरूको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस