aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

संसद्मा उठेको प्रश्न : के तीन शीर्ष नेताको भेटघाट फिल्म देखाउनका लागि हो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ बैशाख २०८०
संसद्मा उठेको प्रश्न : के तीन शीर्ष नेताको भेटघाट फिल्म देखाउनका लागि हो ?

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणले संसद् तताएको छ । सो प्रकरणका दोषीलाई जोगाउन प्रमुख तीन दलका शीर्ष नेता लागेको सांसदहरूले आशङ्का व्यक्त गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरू डा. तोसिमा कार्की, देवेन्द्र पौडेल, प्रेम सुवाल, ठाकुर गैरे, तेजुलाल चौधरी लगायतले सरकार समक्ष दोषीलाई उन्मुक्ति दिने काम नगर्न आग्रह गरेका छन् ।

शून्य समयमा  बोलेका अधिकांश सांसदहरूले दोषी जोगाउने कार्य नहोस् भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।  नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच मंगलबार बिहान भएको भेटवार्ता दोषी जोगाउन हुनसक्ने आशङ्का व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरणबारे भएको छानबिन ट्रेलर मात्र भएको अभिव्यक्ति दिएका थिए । बैठकको शून्य समयमा उनले भने, ‘सभामुख महोदयमार्फत प्रधानमन्त्रीलाई यो संसद्मा स्पष्ट गराउनुपर्ने केही विषय राख्न चाहन्छु । नेपालीलाई भुटानी शरणार्थी बनाई मानव बेचबिखन गर्ने र अर्बौँ ठगी गर्नेहरू को को हुन ? प्रधानमन्त्रीज्यूले फिल्म देखाउने भन्नुभएको थियो, अहिले दाहालजी, देउवाजी र ओलीजीको मिटिङ भइरहेको त्यो फिल्म देखाउनकै लागि हो ?’ 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्की भ्रष्टाचार बिरुद्ध संसद्मा कडा रुपमा प्रस्तुत भएकी छिन् । । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा उनले नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गर्दासमेत जोगाउन खोजिएको भन्दै आपत्ति जनाएकी हुन् ।

कार्कीले नेपाली काङ्ग्रेसकी सांसद तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी आरजु राणा तर्फ संकेत गर्दै संसद्मा प्रश्न गरेकी छिन्, ' भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ?' राणाले यसअघी  नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी प्रकरणको अनुसन्धान माग गर्दा महिला हिंसा भएको गुनासो गरेकी थिइन् ।

उनको सुरुवाती प्रश्न थियो, 'संसद् देश निर्माणको छलफल गर्ने थलो हो कि एक भ्रष्ट्राचारीले अर्को भष्ट्रचारीलाई जोगाउने प्रहसन स्थल हो ?'

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन ठूला दलहरू लागेको आरोप समेत उनले लगाएकी छन् । उनले सांसदहरूले संघीय संसद् सचिवालयमा आफ्नो सम्पत्ति विवरण बुझाएको उल्लेख गर्दै उनले वेबसाइट मार्फत सार्वजनिक गर्न पनि माग गरेकी छन् । सम्पत्ति कर तिरे नतिरेको विवरण पनि सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।

अहिले नक्कली भुटानी शरणार्थी मुद्दामा नाम जोडिएकी सांसद आरजु राणाले केही दिन अघि प्रतिनिधिसभाकै बैठकमा सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न चुनौती दिएकी थिइन् । उनले आफूमाथि समेत प्रश्न उठेको भन्दै 'आफूले गल्ती नगरेको र नडराउने बताएकी' थिइन् ।

सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीलाई कुनै पनि दबाबमा नपरेर यस घटनाको छानबिन गरेर दोषीलाई कानुनी कारबाही गर्न खुट्टा नकमाउन आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस