aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सगरमाथामा बढ्यो खतरा, हिउँको तहमा ह्रास

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • बुधबार, २७ बैशाख २०८०
सगरमाथामा बढ्यो खतरा, हिउँको तहमा ह्रास

काठमाडौं । सगरमाथाका विभिन्न स्थानमा जडान गरिएका स्वचालित मौसम–मापन यन्त्रले सगरमाथाको उच्च भागको हिउँ तथा बरफ नपग्लीकन सिधै वाष्पीकरण (उध्र्वपातन) हुने गरेको र यसले तीव्र रूपमा हिउँको तहमा ह्रास आउनसक्ने देखाएका छन्।

विश्वकै सबैभन्दा अग्लो सगरमाथामा तीव्र गतिमा प्रवाह हुने चिसो हावा र न्यून आद्र्रताले नयाँ हिउँ नपरेको अवस्थामा हिउँदयाममा यसको उचाइ ९० सेन्टिमिटरसम्मले घट्नसक्ने एक अध्ययनको प्रारम्भिक प्रतिवेदनले देखाएको हो।

यो प्रक्रिया लामो समयसम्म जारी रहे सगरमाथाको उचाइमासमेत परिवर्तन हुन सक्ने देखिएको छ।सगरमाथाको ८ हजार ४३० मिटर उचाइमा रहेको बाल्कोनी, ७ हजार ९४५ मिटर उचाइमा रहेको साउथ कोललगायत अन्य स्थानमा स्थापना गरिएका मौसम–मापन यन्त्रबाट प्राप्त हिउँदयामका तथ्यांकको पहिलोपटक गरिएको समीक्षात्मक अध्ययनले यस्तो नतिजा देखाएको हो।

मौसम र जलवायुको क्षेत्रमा काम गर्दै आएको बेलायतको रोयल मेटेरोलोजिकल सोसाइटीद्वारा प्रकाशित वैज्ञानिक जर्नल ‘वेदर’मा नेपाली वैज्ञानिक तेन्जिङ छोग्याल शेर्पाले नेतृत्व गरेको शोधकर्ताहरूको समूहले तयार पारेको प्रतिवेदन प्रकाशित भएको छ। प्रतिवेदनअनुसार सगरमाथा शिखरमा हावाको घण्टागत सरदर चिसोपना सबैभन्दा बढी माइनस ८३ डिग्री सेल्सियस र सबैभन्दा कम माइनस ७७ डिग्री सेल्सियससम्म झर्ने देखिएको छ।

अध्ययनले सगरमाथाको उच्च भूभागमा प्रवाह हुने तीव्र चिसो हावा र न्यून सापेक्षिक आद्र्रताका कारण हिउँद याममासमेत प्रतिदिन २।५ मिलिमिटर पानीबराबरको हिउँको तह उर्ध्वपातनमार्फत नष्ट हुने र यसले अन्ततः शिखरमा हिउँ थुप्रो कम हुँदै जाने देखाएको छ। 

प्रतिक्रिया दिनुहोस