aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पूर्वगृहमन्त्री खाँणका सहयोगी केसी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ बैशाख २०८०
पूर्वगृहमन्त्री खाँणका सहयोगी केसी पक्राउ

काठमाडौं । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन । प्रहरीले उनलाई आज बिहान जडीबुटीबाट पक्राउ गरेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए

यसैगरी सोही घटनाको अनुसन्धानका लागि पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पनि प्रहरीले चुच्चेपाटीस्थित उहाँकै निवासबाट आजै नियन्त्रणमा लिएको थियो । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या १२ पुगेको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ ।

उक्त घटनाका अर्का आरोपित नेकपा (एमाले) का सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार रहनुभएकाले प्रहरीले खोजी गरिरहेको जनाएको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिइसकेको  बताइएको छ । उक्त घटनाका पीडितहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको जाहेरीमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस