काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्र सभाको पुननिर्माण सम्पन्न गरेको छ । महानगरपालिका वडा नं. १९ मा पर्ने यो सभा स्थल इन्द्रजात्रा पर्वसँग सम्बन्धित धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं सामाजिक महत्वको ठाउँ हो । सम्पदा विभाग तथा पर्यटन विभागका सहायक निर्देशक इञ्जिनियर नरेन्द्रमान बज्राचार्यका अनुसार पुननिर्माणका लागि १ करोड ४६ लाख ५९ हजार ४ सय ५३ रुपैंया ४३ पैसा खर्च भएको छ ।
दुई रोपनी ३ पैसा जग्गामा इन्द्र सभा सभा परिसर पुननिर्माणका कार्य भएको हो । सहायक निर्देशक बज्राचार्यका अनुसार ७५ स्क्वायर मिटरमा ठूलो पाटी निर्माण भएको छ । पुननिर्माणका लागि २०७८ कार्तिक ११ गते १ बर्ष अवधि दिएर कार्यादेश दिइएको थियो । तोकिएको समयमा काम नसकिएपछि ६ महिना म्याद थपेर २०८० बैशाख १० गतेसम्म पु¥याइएको थियो । थपिएको अवधिमा काम सकिएको हो ।
पुननिर्माणका क्रममा २ वटा ठूला प्रवेश द्वार, एउटा ठूलो र एउटा सानो फल्चा (पाटी), दू ब्यंकेगु (नेवार समुदायले मानिसको मृत्युपछि दुःखबाट मुक्त हुन गर्ने संस्कार) घर निर्माण भएका छन् । यस्तै भुइँमा इटा, ढुङ्गा विछ्याउने, आकाशे पानी संकलन र पुनभरण प्रणाली जडान लगायत काम भएका छन् । पुननिर्माण भएको भएको फल्चामध्ये एउटा १३ मिटर लम्बाई र ३ मिटर चौडाई भएको एल आकारको अर्को ४ मिटर लम्वाई र ३ मिटर चौडाई भएको सानो छ ।
पुननिर्माणपछि यस क्षेत्रको अवस्थामा देखिने परिवर्तन आएको वडा १९ का अध्यक्ष राजेश श्रेष्ठ बताउँछन्। पुननिर्माण हुनुअघि जीर्ण संरचना, खाल्टाखुल्टी परेको जमिन थियो । अब सांस्कृतिक तथा सामाजिक काम गर्न सहज भएको छ । वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।
पुननिर्माणले परिवर्तनलाई महसुस गराएको अनुभव सुनाउँदै वडा सदस्य चन्द्रमान डंगोल २०७४ सालदेखि प्रक्रियाका लागि आफूहरुले प्रयत्न गरेको बताउँछन् । यस क्षेत्रमा नेवाः समुदायका विभिन्न थरका कुल देवता अर्थात दिगु द्यः छन् । ती दिगु द्यः कुनै पूर्व, कुनै पश्चिम, कुनै उत्तर र कुनै दक्षिण दिशातिर फर्किएका छन् । महर्जन, मानन्धर, तुलाधर र शाक्य समुदायका मानिसहरु यहाँ कुल देवताको पूजा गर्न आउने गर्छन् ।
वडा १९ का सदस्य चन्द्रमान डंगोलका अनुसार प्रत्येक बर्ष दशैंको नवरथ जाने समयमा नवःमीको दिन यहाँ ठूलो मेला लाग्छ । मेलामा सहभागी हुने श्रद्धालुहरु कंकेश्वरी पीठको दर्शन गरेर तलेजु भवानीको दर्शन गर्न जाने चलन छ । त्यसै शिवरात्रीका दिनमा होम गर्ने, श्रीपञ्चमीका दिनमा सरस्वती (ससुद्यः) को पूजा गर्ने चलन छ ।
पुननिर्माण भएपछि स्थानीयमा खुशी देखिएको छ । यो खुशीको दिगोपनाका लागि संरचनाको उपयोग र संरक्षणमा स्थानीय अपनत्व ग्रहण हुन, नियमित सरसफाइ हुन आवश्यक छ । खुल्ला क्षेत्रमा पाटी भएकोले यहाँ असामाजिक क्रियाकलाप हुन सक्ने जोखिम पनि छ । यो जोखिमबाट बचाउन वडा कार्यालयको भूमिका पनि उत्तिकै महत्वपूर्ण देखिन्छ ।
प्रतिक्रिया दिनुहोस