aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

पशुपतिको जग्गामा राजनीतिक पहुँचको दुरुपयोग, सम्झौता भएको सात वर्षसम्म पनि तिरेन भाडा

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, ३१ बैशाख २०८०
पशुपतिको जग्गामा राजनीतिक पहुँचको दुरुपयोग, सम्झौता भएको सात वर्षसम्म पनि तिरेन भाडा

काठमाडौँ। पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेर चमेनागृह सञ्चालनका लागि भवन भाडामा लिएको एक कम्पनीले साढे सात वर्ष बितिसक्दा पनि भाडा बुझाएको छैन। पशुपति क्षेत्र विकास कोष सञ्चालन परिषद्सँग सम्झौता गरी भाडामा लिएको काठमाडौँको गोठाटारस्थित प्राणनाथ क्याफेका सञ्चालकले ‘राजनीतिक पहुँच’का आधारमा भाडा बुझाउन अटेरी गरेको हो ।

विश्व सम्पदा सूचीभित्र रहेको पशुपतिनाथ मन्दिर परिसर, तिलगङ्गास्थित पर्यटन सूचना केन्द्रको भवनमा चमेनागृह सञ्चालनमा दिनेगरी २०७२ साउन ३२ गते कोषका तत्कालीन सदस्य–सचिव गोविन्द टण्डन र प्राणनाथ क्याफेका सञ्चालक गोपीकृष्ण रिजालले पाँचवर्षे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए तर २०७७ साउन ३१ गतेसम्मको भाडाबापतको ९० लाख ७६ हजार ८३५ रुपियाँ ७७ पैसा प्राणनाथ क्याफेका सञ्चालक रिजालले बुझाएका छैनन्।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पटक पटक ताकेता गर्दा, पत्र काटेर सूचित गर्दा र सार्वजनिक सूचना जारी गर्दा पनि सञ्चालक रिजालले भाडाबापतको रकम नबुझाएको बताए।  

उनका अनुसार प्राणनाथ क्याफेका सञ्चालकले २०७२ चैत १ देखि २०७३ साउन ३१ गतेसम्मको पाँच लाख ८४ हजार ८९५ रुपियाँ, २०७३ साउन ३२ देखि २०७४ साउन ३१ गतेसम्मको १५ लाख ४४ हजार १२२ रुपियाँ बुझाउन बाँकी छ। त्यसैगरी आर्थिक वर्ष २०७४/७५ को १६ लाख ९८ हजार ५३५ रुपियाँ, २०७५/७६ को १८ लाख ६८ हजार ३८८ रुपियाँ र २०७६/७७ को २० लाख ५५ हजार २२७ रुपियाँ बुझाउन बाँकी रहेको उनले बताए।

राजनीतिक पहुँच
प्राणनाथ क्याफेको सञ्चालन रिजालसँगै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले गर्नुभएको थियो । सञ्चालक रिजालले भने, “हामी दुवै जना सञ्चालक हो। सम्झौता सकिएपछि क्याफे बन्द छ। तर भाडा तिरेको छैन ।”

उनले सम्झौता गर्दा क्याफे निर्माणको खर्च भाडामै मिलान गर्ने समझदारी भएको र तीन हजार वर्गफिटको टहरो बनाउँदा लागेको खर्च भाडाबापत कटौती गरेपछि मात्रै अरू रकम तिर्ने बताए। उनले भने, “टहरो निर्माण गर्दा ४८ लाख रुपियाँ खर्च भएको छ।

प्रतिक्रिया दिनुहोस