aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नक्कली शरणार्थी प्रकरणले गर्दा सक्कली शरणार्थीलाई समस्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ बैशाख २०८०
नक्कली शरणार्थी प्रकरणले गर्दा सक्कली शरणार्थीलाई समस्या

विराटनगर । नक्कली भुटानी शरणार्थी बन्ने र बनाउनेको होडबाजी छ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन भनेर सिंगो गृह प्रशासन र राजनीतिक नेतृत्व लागेको कुराले देशमा नयाँ तरंग पैदा गरिरहेको छ । तर, सक्कली शरणार्थीको पीडा भने नेपाल सरकारले बुझ्न सकेको छैन ।  

झापाको बेलडाँडी र मोरङको शनिश्चरेमा साढे ६ हजार भुटानी शरणार्थी बसेका छन् । त्यसमध्ये ४२९ जनाको शरणार्थी दर्ता छुटेको वर्षौं भइसक्दा पनि नेपाल सरकारले खासै चासो दिएको छैन ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली धन्दाको पर्दाफास भएको छ । यस प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित केहीलाई पक्राउ गरेको छ भने नेकपा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् ।

अमेरिका जानका लागि भुटानी शरणार्थी बनेर ५० लाख रुपैयाँ तिर्न नेपाली नागरिक तम्तयार रहँदा वास्तविक शरणार्थीको समस्यामा भने सरकारले मलम लगाउन सकेको छैन । अझ, उनीहरूले परिचयपत्र दिलाइदिन माग राखेर आवेदन दिँदा पनि सरकारले शरणार्थीका रूपमा दर्ता नगराउँदा धेरै अवसरबाट बञ्चित भएका छन्, उनीहरू । पथरीशनिश्चरे नपा–१० का भुटानी शरणार्थी बलराम राई आफ्ना समस्या सुनिदिने कोही नभएको गुनासो गर्छन् ।

यहाँका शरणार्थीहरू स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गरिरहेका छन् । तर, यस विषयमा पटक–पटक भुटानसँग भएको वार्ता असफल भएपछि स्वदेश फर्किने आशा धेरैले मारिसकेका छन् । तेस्रो मुलुकमा पनि लखेटिनुपर्ने हो कि भन्ने आशंकाले कतिपय त नेपालमै बस्ने बताउँछन् ।

भुटानी शरणार्थीका रूपमा सूचीकृत हुन नपाउँदा यहाँका शरणार्थीले अनेकन कष्ट पाएको मोरङको शनिश्चरे शरणार्थी शिविरका सचिव चम्पासिंह राई बताउँछन् ।

प्रतिक्रिया दिनुहोस