aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कर्णालीमा पढाइ कमजोर, १३ प्रतिशतको मात्र औसत उपलब्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ बैशाख २०८०
कर्णालीमा पढाइ कमजोर, १३ प्रतिशतको मात्र औसत उपलब्धि

सुर्खेत । कर्णाली प्रदेशमा शिक्षण सिकाइ उपलब्धि अन्य प्रदेशको तुलनामा कमजोर देखिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको शिक्षाको अवस्था विषयक कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।

सार्वजनिक तथ्यांकमा कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेश राष्ट्रिय औसत सिकाइ उपलब्धिभन्दा तल रहेको केन्द्रले जनाएको छ । कर्णालीमा १३ प्रतिशत विद्यार्थीको मात्रै सिकाइ उपलब्धि राम्रो रहेको प्रतिवेदनमा उल्लेख छ । पाठ्यक्रम सहज भए पनि सिकाइ उपलब्धि कमजोर देखिएको महानिर्देशक चन्द्रकान्त भुसालले बताए । 

कक्षा ३, ५ र ८ विद्यार्थीमा गरिएको अध्ययनमा समग्र कर्णाली प्रदेशका ८७ प्रतिशत विद्यार्थीको सिकाइ उपलब्धि कमजोर देखिएको हो । अङ्ग्रेजी, गणित र विज्ञानमा सिकाइ उपलब्धि खस्कँदो रहेको प्रस्तुत प्रतिवेदनमा जनाइएको छ । सन् २०१७ भन्दा सन् २०२० मा सिकाइ उपलब्धि देशभर नै घटेको केन्द्रको तथ्यांकमा छ । यसअन्तर्गत २०१७ मा गणित विषयमा ४६ प्रतिशत बालबालिमा सिकाइ उपलब्धि भएकामा २०२० मा आउँदा ३२ प्रतिशतमात्रै बालबालिकामा सिकाइ उपलब्धि देखिएको छ । 

त्यसैगरी विज्ञान विषयमा ४४ प्रतिशत रहेको सिकाइ उपलब्धि तीन वर्षपछि अर्थात् २०२० मा आउँदा ३८ प्रतिशतमात्रै बालबालिकाले पाठ्यक्रमअनुसार सिकाइ हासिल गरेका छन् । नेपाली विषयमा समेत बालबालिकाको सिकाइ कमजोर भएको तथ्यांकमा उल्लेख छ । यसअनुसार २०१७ मा ६९ प्रतिशत बालबालिकाले पाठ्यक्रमअनुसार सिकाइ गरेका थिए भने २०२० मा ५९ प्रतिशतले मात्रै सिकाइ हासिल गरेका छन् ।

कार्यक्रममा सहभागी शिक्षासँग सरोकार राख्ने व्यक्तिहरूले शिक्षामा रहेका समस्या हटाउन र गुणस्तरीय शिक्षा कायम गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् । अमरज्योति मावि नेवारे सुर्खेतका प्रधानाध्यापक खगेन्द्र थापाले कर्णालीमा शिक्षाको अवस्थामा सुधार हुन नसक्नुको पहिलो कारण विद्यार्थीअनुसारको दरबन्दी  र विद्यालयका भौतिक संरचना नहुनु रहेको बताए ।

श्रीकृष्ण संस्कृत तथा साधारण मावि वीरेन्द्रनगरका शिक्षक लोकबहादुर खत्रीले नीति निर्माण तहमा बसेका व्यक्तिले नीतिमा सुधार ल्याउन सकेमात्रै शैक्षिक गुणस्तर तथा शिक्षण सिकाइ हासिल गर्न सकिने जानकारी दिए । जनमावि सुर्खेतका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले आफ्नो विद्यालयमा विद्यार्थीको चाप बढ्दो रहेको भन्दै त्यसअनुसारको दरबन्दी सरकारले दिन नसकेको गुनासो गरे ।

 कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारले अबको दुई वर्षभित्र शिक्षामा सुधार हुने गरी काम हुने प्रतिबद्धता जनाए । ‘आज शिक्षामा सुधार गर्ने जुन बहस भइरहेको छ, त्यो आगामी दुई वर्षभित्र सुधारका संकेत देख्न पाइन्छ’, उनले भने ।

यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले आफ्नो–आफ्नो क्षेत्रबाट सुधार गर्न सके शिक्षामा सुधार हुने बताए । उनले संघीय शिक्षा ऐन तयारी भएको र अब पारित हुने भन्दै त्यसपछि शिक्षालाई सबल बनाउने गरी योजना बनाउन सहज हुने विश्वास व्यक्त गरे ।

​कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्कबहादुर पोख्रेलले शिक्षामा रहेका समस्या समाधानका लागि विज्ञहरूसँग छलफल थालेको बताए । उनले कर्णालीको शिक्षामा रहेका समस्या समाधान गर्ने गरी विज्ञहरूको सुझावका अधारमा प्रदेश सरकारले नीति तयार गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस