aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

यार्सा टिप्नका लागि साइपालमा आजदेखि एक महिना विद्यालय बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ जेठ २०८०
यार्सा टिप्नका लागि साइपालमा आजदेखि एक महिना विद्यालय बन्द

काठमाडौं । बझाङको साइपाल गाउँपालिका भित्रका विद्यालय आज सोमवारदेखि १ महिनासम्मका लागि बन्द गरिने भएको छ । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा संकलन गर्न लेकतिर जाने भएपछि विद्यालय बन्द गरिएका हुन् । 

उत्तरी भेगका काँडा मावि, धलौन मावि लगायतका विद्यालय बन्द हुनेछन् । अधिकांश विद्यार्थी यार्सा सङ्कलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको बताइएको छ । 

बन्द गरिएका विद्यालयका विद्यार्थी बेंसी झरेपछि असार १ गतेतिर मात्र खुल्ने जानकारी प्राप्त भएको छ । उत्तरी भेगमा पर्ने काँडा, सुर्मा, छविसपाथीभेरा, तल्कोट, दुर्गाथली र मष्टा गाउँपालिका र बुंगल नगरपालिका अन्तर्गत पर्ने अधिकांश विद्यालय यतिखेर विद्यार्थीहरु यार्सा संकलनमा गएपछि बन्द गरे जस्तै भएका छन् ।

उत्तरी भेगमा अवस्थित दूरदराजका ती विद्यालय बर्सेनि ३ महिना बन्द हुने गरे पनि यो वर्ष भने पालिकाले निर्णय गरेर हिउँदे बिदाको सट्टामा १ महिना बिदा दिइएको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय पढ्ने बालबालिका यार्सा संकलन गरी आर्थिक उपार्जन गर्ने गर्दछन् । अघिल्ला वर्षमा विद्यार्थीहरू ३ महिना विद्यालय उपस्थित नभएपछि पाठ्यक्रमको पढाइ अधुरो रहने भएकाले विद्यार्थीले परीक्षामा कम अंक ल्याउने गरेका शिक्षकहरू बताउँछन् । यस भेगमा १० वर्षका बालबालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकसमेत यार्सा संकलन गर्न लेकतिर जाने गर्दछन् ।

बझाङको साइपाल गाउँपालिकामा यार्सा संकलनकर्ताबाट ७ लाख ९ हजार राजस्व संकलन भएको छ । वैशाख १० गतेदेखि यार्सा संकलनका लागि वन खुला गरिएको थियो । सोही दिनदेखि ७५२ जना साइपाल गाउँपालिकामा यार्सा संकलनका लागि पाटन प्रवेश गरेको साइपाल गाउँपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस