काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थ चोरी कार्यमा संलग्न हुनेलाई अहिलेसम्मकै कडा सजाय गरेको छ । आयल निगमले निगमसँग सम्झौतामा रही पेट्रोलियम पद्धार्थको चोरी कार्यमा संलग्न हुने टैंक तथा ट्रकको भाडा रोक्का राख्ने, २० हजार लिटर पेट्रोलको रकम असुल उपर गर्नेदेखि चालकलाई सँधैका लागि बन्देज लगाउनेसम्मको कारबाही गरेको हो ।
निगमले जारी गरेको विज्ञप्तिमा सम्झौता विपरीत गतिविधि गरेको र क्षमताभन्दा बढी पेट्रोल ढुवानी गरेको पाएसँगै चार वटा कारबाही गरिएको जनाएको छ । लु २ ख ४८३९–२० किलोलिटर क्षमता रहेको उक्त टैंक–ट्रक भैरहवा भन्सार कार्यालयबाट नियन्त्रणमा लिइ पेट्रोल चोरी पैठारी कसुरमा कारबाही अगाडि बढाएको पनि निगमको भनाइ रहेको छ ।
यस्तो छ निगमले जारी गरेको विज्ञप्ति
निगमसँग करार सम्झौता भइ बेतालपुर–भैरहवा रुटमा निगमको पेट्रोल ढुवानी गर्ने गरी ढुवानकर्ता एक्सप्रेस परिवहन सेवा प्राली, ओमसतिया–१ रुपन्देहीको नाममा रहेको लु २ ख ४८३९–२० किलोलिटर क्षमता नम्बरको टैंक–ट्रकबाट पेट्रोल ढुवानी गरी ल्याउने क्रममा उक्त टैंकर भैरहवा भन्सार कार्यालयबाट चेकजाँच हुँदा उक्त टैंक–ट्रकको क्षमता र इन्डियन आयल कर्पोरेशनको इभ्वाइसमा उल्लेख भएको २० किलोलिटर परिणाम भन्दा बढी परिमाण पेट्रोल ढुवानी गरेकाले भैरहवा भन्सार कार्यालयबाट उक्त टैंक–ट्रकलाई नियन्त्रणमा लिइ पेट्रोल चोरी पैठारी कसुरमा कारबाही अगाडि बढाएको हुँदा उक्त टैंक–ट्रकका ढुवानीकर्ता, टैंक–ट्रक चालकलाई निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ (तेस्रो संशोधनसहित) अनुसार, देहाय बमोजिमको कारबाही गरिएको छ ।
१, निगमसँग करार सम्झौतामा रही निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ (तेस्रो संशोधनसहित) सञ्चालित उक्त टैंक–ट्रकको ढुवानी भाडासमेत रोक्का राख्ने र २० हजार लिटर पेट्रोलको रकम असुल उपर गर्ने निर्णय भएको ।
२, उक्त टैंक–ट्रकलाई उपरोक्त उल्लेखित विनियमावली बमोजिम तीन महिनाको लागि निलम्बन गर्ने निर्णय गरिएको ।
३, उक्त टैंक–ट्रकको चालकलाई निगमको सम्पूर्ण डिपोहरुमा पेट्रोलियम पदार्थ ढुवानी कार्यमा सधैका लागि बन्देज लगाउने निर्णय गरिएको ।
४, माथि उल्लेखित कारबाहीका अतिरिक्त भन्सार कार्यालयबाट अन्य कारबाही भएमा सो बमोजिम हुने ।
प्रतिक्रिया दिनुहोस