aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

भ्रष्टाचारीलाई कुनै पनि बहानामा बचाउने काम हुँदैनः प्रधानमन्त्री प्रचण्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ जेठ २०८०
भ्रष्टाचारीलाई कुनै पनि बहानामा बचाउने काम हुँदैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तरलता र ब्याजदर लगायतका अन्य कतिपय परिसूचकहरुमा समेत सुधार आएको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल राष्ट्र बैंकद्धारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा सम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

अब हाम्रो ध्यान अर्थतन्त्रका अन्य क्षेत्रका समस्या समाधान गर्दै दिगो आर्थिक विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित गर्न जरुरी रहेको समेत उनले बताए । कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले राजनीतिक क्षेत्रमा महत्वपूर्ण परिर्वतन हसिल गर्न सफल भएका छौं। तर त्यसै मुताविक जनताको आर्थिक–सामाजिक स्तरमा परिवर्तन हुन सकेको छैन । यसबाट आम–जनमानसमा एक प्रकारको निरासा र वितृष्णा पैदा भएको साँचो हो । हामीले व्यवस्था त बदल्यौं, अब हामी अबस्था बदल्नमा केन्द्रित हुनुपर्दछ ।’

आफ्नो नेतृत्वमा सरकार बनेपछि शुरुदेखि नै अर्थतन्त्रमा देखा परेका चुनौती सामना गर्न केही महत्वपूर्ण कदम चालिएको उनको दाबी छ । सार्वजनिक सेवा प्रवाह हुने ठाउँमा लामो लाइन बस्नुपर्ने र बिचौलियाहरुबाट ठगिनुपर्ने अवस्थामा सुधार भएको समेत प्रधानमन्त्रीको दाबी रहेको छ । 

‘अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवर्द्धन हुन सक्दैन । सरकार भ्रष्टाचार विरुद्ध गम्भीर रुपमा लागेको छ । यो कुरा पछिल्ला केही कारबाहीबाट प्रष्ट भएको छ । भ्रष्टाचारीहरुलाई कुनै पनि बहानामा बचाउने काम नगरियोस्, सरकारले खुट्टा नकमाओस् भनेर जुन खबरदारी गर्नुभएको छ, त्यसप्रति पनि हामी पूर्ण सजग रहेका छौं’, प्रधानमन्त्री दाहालले भने ।  

कोभिड–१९ को महामारीले शिथिल बन्न पुगेको अर्थतन्त्रको पुनरोत्थानको लागि सरकारले वित्त नीतिमार्फत् र केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत् चालेका कदमबाट अर्थतन्त्र चलायमान हुन लागेको बेला रुस–युक्रेन युद्धले पुनरोत्थानको लय अवरुद्ध गर्नुका साथै नयाँ चुनौती थपिदिएको उनको भनाई छ । यी चुनौतीहरुको सामना गर्ने क्रममा हाम्रा कतिपय संरचनाहरुमा रहेका कमजोरी र नीतिगत असन्तुलन पनि उजागर हुन आएका छन् । एक क्षेत्रको समस्या समाधान गर्न चालिएको कदमले अर्को क्षेत्रमा समस्या सिर्जना गरेको अवस्था पनि देखियो। आगामी दिनमा यस्ता कमी–कमजोरी हुन नदिन सतर्क हुन आवश्यक छ । 

उनका अनुसार बैंकिङ क्षेत्रको विकास र विस्तारबाट मुलुकमा वित्तीय पहुँच बढेको छ । कर्जा लगानीमा भएको वृद्धिबाट हरेक क्षेत्रमा आर्थिक क्रियाकलाप बढाउन मद्दत पुगेको छ । तर, बैकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव न्यून देखिन्छ । 

त्यसैगरी, सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत–साधनको उपयोग गर्ने, उपलव्ध स्रोत–साधन प्रत्यक्ष–अप्रत्यक्ष रुपमा अनुत्पादक वा कम उत्पादक क्षेत्रमा केन्द्रित हुने जस्ता समस्या पनि देखिएका छन् । अहिले अर्थतन्त्रमा समस्या देखिनुमा यस्तै अनपेक्षित क्रियाकलाप पनि धेरै हदसम्म जिम्मेवार रहेका छन् । यस्तो प्रवृत्तिलाई रोक्न केन्द्रीय बैंक तथा बैंकिङ क्षेत्रले समयमै उचित कदम चाल्नु आवश्यक रहेको प्रधानमन्त्रीको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस