काठमाडौं । गत मंसिर ४ गते भएको आम निर्वाचनमा डडेलधुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हराएर आफू विजयी बन्ने भन्दै प्रतिनिधिसभाको उम्मेदवार बनेका सागर ढकालमाथि कोठाभाडासमेत नतिरी फरार भएको आरोप लागेको छ ।
चुनाव प्रचारप्रसारका क्रममा जिल्लामै बस्नु पर्ने भएपछि डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा हालसम्म नतिरेको भन्दै घरधनीले उनको खोजी गरेका छन् । आठ हिनादेखि भाडा पनि नतिरेको र ढोकामा ताल्चा लगाएर कोठा प्रयोग पनि गर्न नदिएको घरधनी सीतादेवी भाटको गुनासो रहेको छ ।
घरधनी भाटले सञ्चार माध्यममा बताए अनुसार ढकालले मासिक तीनहजारका दरले तिर्ने गरी गत असारमा उक्त कोठा भाडामा लिएका थिए । उनले असार, साउन र भदौको गरी नौ हजार भाडा तिरेका छन् भने पछिल्लो आठ महिनाको भाडा तिर्न बाँकी रहेको छ ।
घरधनी भाटले ढकाललाई भाडा तिर्न ताकेता गर्नको लागि पटक–पटक फोन गर्दा नउठेको र पछिल्लो समय भने मोबाइल नै स्वीचअफ भएकोले प्रहरीमा निवेदन दिने तयारी गरिएको बताएकी छिन् ।
प्रतिक्रिया दिनुहोस