काठमाडौं । नागरिकता विवाद प्रकरणका कारण एक पटक आफूले जितेको सांसद पदसहित उपप्रधान तथा गृहमन्त्री जस्तो पद पनि गुमाएका राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का सभापति रवि लामिछाने अहिले फेरि राहदानीको विवादमा फस्न सक्ने सम्भावना बढेको छ । उनीविरुद्ध अमेरिकी नागरिकता त्यागेको नदेखिएको र अमेरिकी राहदानी त्यागेको प्रमाण नभएको भन्दै कारबाहीका लागि परेको रिटमा सर्वोच्च अदालतले निस्सा माग गरेपछि उनी यो विवादमा मुछिन सक्ने सम्भावना देखिएको हो ।
सिन्धुलीका युवराज पौडेल सफलले लामिछानेले गैरनेपाली नागरिक बनेर नेपालमा लाभको पदमा बसेर नाजायज फाइदा लिएको भन्दै रिट दायर गरेपछि सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालय काठमाडौं र अध्यागमन विभागलाई पत्र लेखी उनले अमेरिकी नागरिकता र राहदानी त्याग गरेको निस्सा उपलब्ध गराउन आदेश दिएको छ ।
सर्वोच्च अदालतको मुद्धा तथा रिट मपहाशाखाबाट जारी आदेशमा भनिएको छ– ‘निवेदक युवराज पौडेल सफल र प्रत्यार्थीरविपक्षी महान्यायाधिवक्तको कार्यालय रामशाहपथ काठमाडौ समेत भएको उत्प्रेषण समेत विषयको रिट निवेदनमा मिति २०७९/१२/२२ मा प्रस्तुत मुद्दाका प्रत्यर्थी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय, काठमाडौं जहाँ भएपनि झिकाई पेश गर्नु भनी भएको आदेशनुसार प्रस्तुत पत्र लेखिएको छ ।’
प्रतिक्रिया दिनुहोस