aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नक्कली शरणार्थीलाई नक्कली चेकले बनायो बिल्लीबाठ

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • बुधबार, ०३ जेठ २०८०
नक्कली शरणार्थीलाई नक्कली चेकले बनायो बिल्लीबाठ

विराटनगर । मजदुरी गरेर जीविकोपार्जन । आर्थिक अवस्था निकै कमजोर । महिनामै प्रशस्त हरियो डलर (अमेरिकी) कमाइ हुने आश्वासनले मनै फुरुङ । त्यसमाथि चिनेजानेकै वडाध्यक्षबाट अमेरिका पुर्‍याइदिने वचन । वडाध्यक्षकै बुवाआमाको बसोबास अमेरिकामा भएपछि झनै पत्यारलाग्दो सपना । 

जसकारण मोरङको पथरी शनिश्चरेका रमेश राई (नाम परिवर्तन) नक्कली भुटानी शरणार्थी बन्न तयार भए । उनलाई आश्वासन दिने पथरी शनिश्चरे नगरपालिका–१० का तत्कालीन वडाध्यक्ष सागर राई चिनजानकै साथी थिए । उनले अमेरिका उड्न रमेशसँग १० लाख रुपैयाँ मागे ।

रमेशले केही रकम साथीभाइसँग ऋण मागे । केही ससुरालीको जग्गा धितो राखेर ऋणपान गरे । ‘तीन महिनामा अमेरिका पठाउने भनेर पैसा मागे । २ लाख साथीभाइसँग ऋण खोजेर दिएँ,’ रमेश भन्छन्, ‘८ लाख जुटाउन ससुरालीको जग्गा धितो राखेँ । तर, अहिले न अमेरिका जान पाइयो, न त पैसा नै फिर्ता भयो ।’ 

परिवार पाल्नै समस्या भएपछि तत्कालीन वडाध्यक्ष राईको सल्लाहअनुसार आफू अघि बढेको रमेशले बताए । अमेरिका जाने सपना पालेर दिएको पैसा डुब्दा ऋण तिर्न र धितो राखेको जग्गा उकास्न नपाएको उनको गुनासो छ । ऋणको ब्याज तिर्न आफ्नो नाममा भएको १० धुर जग्गा बेचिसकेको रमेशले सुनाए । ‘नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएपछि मसँगै परिवार पनि तनावमा छन्’, उनी भन्छन्, ‘दिएको पैसा त डुब्यो नै, कारबाही पनि भोग्नुपर्ने हो कि भन्ने त्रासमा छौं ।’ 

उनका अनुसार सुरुमा १० लाख र अमेरिका पुगिसकेपछि थप १५ लाख दिने सर्त थियो । तर, अहिले आएर बिल्लीबाठ भएको उनको गुनासो छ ।

‘तनावका कारण मानसिक समस्या निम्तियो । अहिले औषधि खाँदै छु’, रमेश भन्छन्, ‘सागरलाई भेटेर पटक–पटक पैसा फिर्ता गरिदिन आग्रह गरें । मिति उल्लेख नगरीकन उनले बैंकको चेक दिए पनि खातामा पैसा छैन ।’ 

तपाईंको पैसा डुबाउँदिनँ भनेर आश्वासन दिने सागर पक्राउ परेपछि झन् तनावमा परेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस