aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नक्कली शरणार्थी बनाउन कार्यालय नै खोलेका थिए आङटावाले

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • बुधबार, ०३ जेठ २०८०
नक्कली शरणार्थी बनाउन कार्यालय नै खोलेका थिए आङटावाले

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन प्रधानमन्त्रीपछिको महत्वपूर्ण मन्त्रालय सम्हालेका गृहमन्त्री र सचिव नै मानव तस्करीमा संलग्न हुँदा पूर्वसभासद् आङटावा शेर्पाले कार्यालय नै खोलेर नेपालीलाई भुटानी शरणार्थीको फाराम भराएको पाइएको छ। उनले ललितपुरको एउटा घरमा कार्यालय नै खोलेर अमेरिका पठाउने भन्दै नेपाली नागरिकलाई भुटानी शरणार्थीको फाराम भराएको भिडियो नै यतिबेला सार्वजनिक भएको हो।

सोमबार साँझ प्रहरी कार्यालय पुगेका शेर्पालाई प्रहरीले तत्कालै छाड्ने तयारी गरेको थियो। तर उनले कार्यालय खोलेर नक्कली भुटानी शरणार्थी बनाउँदै फाराम भराएका तीनवटा भिडियो प्रहरीले फेला पारेपछि भने अनुसन्धान सुरु गरेको छ। ‘शेर्पाले एक वर्षअघि आफूनजिक रहेका र केही व्यक्तिलाई कार्यालय नै खोलेर फाराम भराएको भन्ने भिडियो प्राप्त भएको छ, त्यसबारे अनुसन्धान हुँदै छ,’जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले भने।  

स्रोतका अनुसार शेर्पाले उनका आफन्त डेजोन शेर्पाले समेत पैसा उठाएको दाबी गरिएको छ। उनले सुरुमा ६ लाख, २० लाख र २४ लाखका दरले पैसा उठाएका थिए। उनीसँग संलग्न गौतम थरका एक व्यक्तिलाई पनि प्रहरीले खोजी गरिरहेको छ। 

प्रतिक्रिया दिनुहोस