aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

फलफूलका बिरुवा उत्पादनबाट मनग्य आम्दानी

  • रासस
    रासस
  • बुधबार, ०३ जेठ २०८०
फलफूलका बिरुवा उत्पादनबाट मनग्य आम्दानी
फाइल फोटो

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले तीन कठ्ठा जमिनमा नर्सरी बनाएर पmलफूलका बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । इच्छाशक्ति भए थोरै जमिनमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका चन्दले मासिक ६० हजार रुपैयाँसम्मको बोट बिरुवा बिक्री वितरण हुने गरेको बताउँछन् ।  

पाँच वर्षयता तीन कठ्ठा जमिनमा पmलफूल नर्सरी सञ्चालन गरिरहेका चन्दले कारोबारको ५० प्रतिशत मुनाफा हुने गरेको बताए । “विगतमा फलफूल र नर्सरी, सार्वजिनक कार्यालय र पालिका सजावटका लागि भारतीय नागरिकको भर पर्नुपर्ने अवस्था थियो”, उनले भने, “आर्थिक तरलताले व्यवसायमा केही मन्दी देखिए पनि व्यवसायमा निराश हुनुपर्ने अवस्था छैन ।”

फलफूलका बिरुवा उत्पादन गरी बिक्री वितरणका साथै माग गरेको  स्थानमा ग्रिनहाउस, होटल तथा प्यालेसको सजावट तथा स्थानीय पालिकामा नर्सरी बनाउन जाने गर्नुभएका चन्दले सोही व्यवसायबाट भएको आम्दानीले जीविका चलाउने गरेको बताए । “व्यवसाय बढाउन फेरि जमिन भाडामा लिने योजना गर्दैछु”, उनले भने, “मेहनत गरे घरपरिवारसितै बसेर जीविका चलाउन कुनै समस्या छैन ।”

गाउँ तथा नगरपालिका कार्यालय प्रायः सबैले नर्सरी सजावटका लागि फूलका बिरुवा, प्लान्ट खरिद गर्ने गरेको चन्दको भनाइ छ । “बीउ र कलमबाट उत्पादित बिरुवा र सजावटका बिरुवा बाहिरबाट आयात गर्छौँ”, उनले भने, “पछिल्लो समय उत्पादित फूलको बजारमा माग पनि बढ्दै छ ।” विज्ञान अध्ययनका साथै कम्प्युटर विषयमा स्नातक गरेका चन्दले कृषिसम्बन्धी काम गर्ने योजनाका साथ अघि बढेको बताए । आफूले कहीँकतैबाट पनि नर्सरीका लागि अनुदान÷सहयोग नलिएको उनको भनाइ छ ।

कञ्चनपुरमा पछिल्लो समय नर्सरी सञ्चालन गरी पmलफूलका बिरुवा उत्पादन गर्ने क्रम बढिरहेको छ । त्यसैगरी शुक्लाफाँटा नगरपालिका–७ जुडामा ३२ वर्षीय युवा मदन धामी लामो समयदेखि बुवासितै नर्सरी सञ्चालन गर्छन् । एक बिघामा नर्सरी बनाएर विभिन्न बिरुवा तथा फलफूलका बोट उत्पादन गरिरहेको बताउँदै धामीले वार्षिक रु १५ लाखको कारोबार हुने गरेको बताए । “यहाँ उत्पादित फलफूल तथा अन्य बोटबिरुवा सुदूरपश्चिम प्रदेशको नौवटै जिल्लामा निर्यात हुँदै आएको छ”, उनले भने, “अझै पनि मागअनुसारको बिरुवा उत्पादन गरी उपलब्ध गराउन सकिएको छैन ।”

आफ्नो परिवार विगत तीन दशकयता नर्सरी बनाएर बिरुवा उत्पादन गरिरहेको उनले बताए । “आँप दश जातका साथै चार प्रकारको लिची, कागती, नास्पति, अनार, बाँसका प्रजाति, श्रीखण्ड, रक्तचन्दनको बोट उत्पादन हुन्छ ।” उनले भने, “चाुल आर्थिक वर्षमा नर्सरीमा टनेल बनाउन कृषि ज्ञान केन्द्रबाट रु एक लाख अनुदान रकम मिलेको छ ।”

जेटिए पढेका धामीको परिवारका अन्य दाजुभाइले पनि यहाँ दुईवटा नर्सरी बनाएर बिरुवा उत्पादनमा सक्रिय रहँदै आएका छन् । “युवा स्वरोजगारमा सरकारले लगानी बढाएर युवालाई कृषि र नर्सरीमै लगाए पनि विदेशिनुपर्ने अवस्था आउँदैन”, धामीले भने, “कृषिमा बजेट भए पनि युवा अझै आयमूलक कामभन्दा मजदुरीकै लागि अन्यत्र जानेको संख्या अधिक छ ।”

पछिल्लो समय स्थानीयस्तरमै फलफूलका बिरुवा उत्पादन बढेपछि भारतबाट आयात गर्ने क्रम घटेको उनले बताए । “व्यावसायिकरूपले फलफूल लगाएर आम्दानी गरौँ भन्ने सोचको विकास भएको देखिँदैन”, धामीले भने, “मेहनत गरेर थोरै क्षेत्रफलमा नर्सरी बनाए पनि आम्दानी गर्न सकिन्छ ।” 

प्रतिक्रिया दिनुहोस