aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नौ महिनादेखि तलब नै नपाएपछि सागरनाथका कर्मचारी तनाबमा

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • विहीबार, ०४ जेठ २०८०
नौ महिनादेखि तलब नै नपाएपछि सागरनाथका कर्मचारी तनाबमा

काठमाडौं । लामो समयदेखि तलब नपाएका सागरनाथ वन विकास परियोजनाका कर्मचारीहरुमा असन्तुष्टि देखिएको छ। उनीहरुले नौ महिनादेखि तलब पाएका छैनन्।

सर्लाहीको ईश्वरपुर नगरपालिका ४ स्थित परियोजनामा कार्यरत १७० जना कर्मचारीले गएको भदौदेखि तलब पाउन सकेका छैनन्। यसरी लामो समयदेखि तलब नपाउँदा घर व्यवहार धान्नै मुस्किल परेको उनीहरुको गुनासो छ।

वि।सं। २०३५ सालमा स्थापना भएको परियोजना अन्तर्गत सर्लाही, महोत्तरी र रौतहटमा गरी १३ हजार ५१२ हेक्टर वन क्षेत्र पर्छ। वनकर्मीको अध्ययन गर्ने थलो, देशकै सबैभन्दा ठुलो वृक्षारोपण भएको र सरकारलाई देशभरमै धेरै राजस्व संकलन गरेर बुझाउने कार्यालयकै कर्मचारी नौ महिनादेखि तलबविहीन भई काम गरिरहेकामा बिस्तारै असन्तुष्टि बढ्न गई कामकाज प्रभावित हुने अवस्था आउन थालेको कर्मचारीहरू बताउँछन्।

केही वर्ष यता आर्थिक सङ्कटबाट गुज्रिरहेको परियोजनाका कर्मचारीहरुले आन्दोलनको तरिका अपनाउन बाध्य हुनुपर्ने अवस्था आएको कर्मचारीहरू नै बताउँछन्। परियोजनाका कर्मचारीहरुले गत सोमवार कार्यालयमा तालाबन्दीको प्रयास गरेका थिए तर विभिन्न क्षेत्रको संयोजनले ताला खुलाइएको थियो।

भदौदेखि तलब नपाउँदा परियोजनामा कार्यरत स्थायी, करार र दैनिक ज्यालादारी गरी १७० जनाको घर व्यवहार प्रभावित बनेको परियोजनामा कार्यरत कर्मचारी छत्र लामाले बताएका छन्।

परियोजनाले यो वर्ष काठ बिक्रीका लागि पटक–पटक सूचना निकाले पनि ठेक्का सकार भएको छैन। काठ बिक्री नभएको र वन तथा वातावरण मन्त्रालयले समेत परियोजनाप्रति खासै चासो नदेखाउँदा कर्मचारीहरू भोक भोकै मनुपर्ने अवस्था आएको परियोजना प्रमुख रामकिशोर यादवले बताएका छन्।

प्रतिक्रिया दिनुहोस