aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नक्कली भुटानी शरणार्थी प्रकरणमा शमशेर मियाँ पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ जेठ २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा शमशेर मियाँ पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने गृह मन्त्रालय अन्तर्गत रहेको केन्द्रिय हज समितिका अध्यक्ष शमशेर मियाँ हुन् ।  

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान थालेपछि नेपाल हज समितिका अध्यक्ष मियाँ सम्पर्कविहीन भएका थिए । उनलाई आज बिहिबार प्रहरीले पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणको काम गर्दा मियाँको गाडी प्रयोग भएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग अध्यक्ष मियाँको संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिए । मियाँलाई आज दिउँसो सिंहदरबारबाट पक्राउ गरिएको समेत उनले बताए । 

उनका अनुसार शरणार्थीका नाममा ठग्ने गिरोहलाई हज समितिको प्रयोगका लागि उपलब्ध गराएको गृह मन्त्रालयको गाडी अध्यक्ष मियाँले उपलब्ध गराएका थिए । भुटानी शरणार्थी प्रकरणमा उक्त समितिको गाडी प्रयोग भएको खुलासा भएको प्रहरीले जनाएको छ । गृह मन्त्रालयको स्वामित्वमा रहेको बिएबी–१४०५ नम्बरको निशान पेट्रोल जिप प्रहरीले बरामद गरेको छ । पीडितहरुलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरु सो गाडीमा जाने गरेको प्रहरीको दाबी छ । 

चितवनको सौराहा र काठमाडौंको सुन्धारालगायतका ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यहरुले सो गाडी प्रयोग गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । इम्बोस्ड नम्बर बिएबी-१४०५ नम्बरको सो जिप गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको नाममा रहेको पाइएको छ । 

यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण र खाणका सल्लाहकार नरेन्द्र केसी, पूर्वमन्त्री टोपबहादुर रायमाझी, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे र इन्द्रजित राई सहित १५ जना पक्राउ परिसकेका छन् । पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजितका छोरा निरज राई फरार छन्। उनीहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस