aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

स्पेनमा समाजवादी पार्टी ठूलो दल, त्रिशंकु सरकार बन्दै

  • एएफपी
    एएफपी
  • सोमबार, १६ बैशाख २०७६
स्पेनमा समाजवादी पार्टी ठूलो दल, त्रिशंकु सरकार बन्दै

    म्याड्रिड, ।  स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजको सत्तारुढ समाजवादी पार्टीले संसदको चुनावमा ठूलो दलको रुपमा विजयी भएको छ । तर समाजवादीलाई सरकार गठन गर्न आवश्यक पूर्ण बहुमत भने प्राप्त भएको छैन ।     
     
अति–दक्षिणपन्थी दलले यसपटक संसदमा प्रवेश पाएसँगै स्पेनको राजनीतिक परिदृश्य थप अन्यौलतर्फ उन्मूख भएको छ । प्रधानमन्त्री सान्चेजले अरु साना दलसँग मिलेर सरकार गठन गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ ।     
     
सन् २०१७ मा क्याटालोनियाले स्पेनबाट अलग्गिन चाहेयता स्पेनमा राजनीतिक अस्थिरता अझ चुलिएको छ । अस्थिर राजनीतिकै कारण विगत चार वर्षको अवधिमा तेस्रो पटक संसदको निर्वाचन गर्नु परेको छ ।     
     
अतिराष्ट्रवादी भोक्स पार्टीको उदय अर्को चुनौतीको रुपमा देखिएको छ । यो दलले १० प्रतिशतको हाराहारीमा मत पाएको छ । यो दलले बहुसंस्कृति र अनियन्त्रित आप्रवासनको विरोध गर्दछ । सन् १९७५ मा तानाशाह फ्रान्सिस्को फ्रान्कोको मृत्यु भएपछि अति–दक्षिणपन्थीको उपस्थिति स्पेनको राजनीतिमा खासै प्रभाव थिएन ।     
     
कूल ३५० रहेको स्पेनको संसदमा सान्चेजको समाजवादी पार्टीले १२३ स्थान जितेको छ । अर्थात् करिब २९ प्रतिशत मत समाजवादी पार्टीले ल्याएको छ । सन् २०१६ मा समाजवादी पार्टीले ८५ स्थानमात्र जितेको थियो ।     
     
म्याड्रिडमा आइतबार आयोजित समारोहमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री सान्चेजले समाजवादी पार्टीले चुनाव जितेको दाबी गर्नुभयो ।     
     
यस चुनावमा अनुदारवादी पपुलर पार्टी ९पीपी० ले निकै ठूलो नोक्सानी व्यहोरेको छ । यस दलले अघिल्लो चुनावमा १३७ स्थान ल्याए पनि यस पटक ६६ स्थान मात्र जितेको छ ।     
     
यस चुनावमा दुई वटा क्याटालान पृथकतावादी पार्टीले पनि राम्रो प्रगति गरेका छन् । सन् २०१६ मा यी दलले १७ स्थान जितेकामा यस पटक २२ स्थानमा विजयी भएका छन् ।     
     
विजयी भएका पाँच जना पृथकतावादी नेताहरु जेलमै छन् र उनीहरुमाथि स्पेनको सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।    
दक्षिणपन्थी पार्टीहरुले भने प्रधानमन्त्री सान्चेजले पृथकतावादीहरुसँग नरम व्यवहार गरेको र स्पेनलाई टुक्र्याउन खोजेको आरोप लगाउँदै आएका छन् ।     

प्रतिक्रिया दिनुहोस